सुर्खेतमा ६ महिनामा १ सय ५१ मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना
उकेरा डटकम । २०८२ असार १६ गते
सुर्खेत : सुर्खेत जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा १ सय ५१ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा यी घटना सार्वजनिक गरिएको हो।
राज्यपक्षबाट भएका उल्लङ्घनमा २ कुटपिट र १ कुटपिट गर्दै गिरफ्तारीको घटना समावेश छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडियो) जगदिश्वर उपाध्यायले कानुनी प्रक्रियामा नगएका घटनाहरूप्रति पनि समाज र निकायहरू संवेदनशील हुनुपर्ने बताए। उनले राज्यबाट हुने घटनामा एकतर्फी दृष्टिकोण नराख्न सुझाव दिए।
राष्ट्रिय मानव अधिकार आयोग कर्णालीका प्रमुख रमेशकुमार थापाले अपराध बढेसँगै मानव अधिकार उल्लङ्घन पनि बढेको भन्दै सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले प्रहरी मानव अधिकारको पक्षमा रहेको दाबी गर्दै हिरासत व्यवस्थादेखि व्यवहारसम्म सुधार ल्याइएको बताए।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बर प्रसाद काफ्लेले मानव अधिकार उल्लङ्घन घटाउन साझा प्रयास आवश्यक रहेको औंल्याए।
मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकालले महिला र बालबालिकामाथि हुने हिंसाले चुनौतीपूर्ण अवस्था सिर्जना गरेको बताए।
जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावल, उच्च बार अध्यक्ष दुर्गाप्रसाद सापकोटा र अधिवक्ता गिता कोइरालाले पनि मानव अधिकार मुद्दामा संवेदनशीलता, गोपनीयता र समावेशिताको पक्षमा जोड दिए।
इन्सेकले १९९२ देखि प्रत्येक वर्ष ‘मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको र प्रत्येक ६ महिनामा अर्धवार्षिक समीक्षा गर्दै आएको जानकारी गराइएको थियो। रिपोर्ट अनुसार वर्षेनी यस्ता घटनाको सङ्ख्या बढ्दो क्रममा छ।
Source: https://ukeraa.com/news/detail/162930/
Source: https://khulanajar.com/2025/06/4035/
Source:
HUMAN RIGHTS NEWS PORTAL






