स्थानीय तहमा शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्न दुई समूह गठन
अनलाइन रेडियो जिओभी डट एनपी । २०७९ फागुन २९ गते
जनकपुरधाम । स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण तथा विभेदको विरुद्धमा काम गर्ने उद्देश्यले ईन्सेकको पहलमा धनुषा तथा सप्तरीका चार पालिकामा अभियान चलाइएको छ । ईन्सेकले अहिले धनुषा जिल्लाको वटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा काम गरिरहेको छ । यसैगरि सप्तरी जिल्लाको शम्भुनाथ तथा डाक्नेश्वरी नगरपालिकामा काम गरिरहेको छ । ती चार पालिकामा स्थानीय स्तरमा नै बाल अधिकार तथा मानव अधिकार समूह गठन भइसकेका छन् । गाउँमा नै गठन भएको मानव अधिकार तथा वाल अधिकार समूहको पहलमा धनुषाको वटेश्वर गाउँपालिकाको एक माध्यमिक विद्यालयमा विषयगत शिक्षकको समस्या समाधान गर्ने काम भएको ईन्सेकका प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो ।
गाउँमा नै गठन भएको बालअधिकारको पहलमा शिक्षा विकास तथा समन्वय इकाईबाट विषयगत शिक्षक पठाइएको छ । गाउँ तथा नगर स्तरबाट स्थानीय समूहले नै समाधान गराउनका लागि पहल गरे पनि प्रदेश स्तरबाट हुने समस्याको समाधान गर्नका लागि पनि दुई वटै समूह गठन गरिएको छ । मधेश प्रदेश स्तरीय मानव अधिकार समूह र बालअधिकार समूह आज गठन भएको छ । जनकपुरधाममा आज बसेको चारै पालिकाको सरोकारवालाहरूको बैठकले दुई समूह निर्माण गरेको हो । बालअधिकार समूह धनुषाका हरिश्चन्द्र साहको अध्यक्षतामा १५ सदस्यीय गठन गरिएको छ भने मानव अधिकार समूहको अध्यक्षमा धनुषाकै वटेश्वर गाउँपालिकाका पूजा साह चयन हुनुभएको छ ।