स्थानीय तहहरु मानवअधिकारप्रति सम्बेदनशिल भएनन्ः जिसस प्रमुख वाग्ले
देवघाट अनलाइन डटकम । २०८१ चैत २ गते
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँका स्थानीयतहहरु मानवअधिकार प्रति संवेदनशिल हुन नसकेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीसँग आइतबार कुरा गर्दै जिसस प्रमुख वाग्लेले मानवअधिकार सम्बन्धि कार्यक्रम सन्चालन गर्न स्थानीयतहहरु संवेदनशिल र गम्भिर नभएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रत्येक स्थानीय तहमा मानवअधिकारको पाँचौ राष्ट्रिय कार्यायोजना समिति गठन गर्न तथा संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि कार्ययोजना कार्यान्वयन गर्न परिपत्र भएपनि तनहुँका स्थानीय तहले उक्त कार्ययोजना कार्यान्वयनकोलागि कुनै गम्भिरता नलिएको प्रमुख वाग्लेले बताए ।
पटक–पटकको ताकेताको कारण सबै स्थानीय तहमा मानवअधिकारको पाँचौ राष्ट्रिय कार्यायोजना समिति तथा संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि कार्ययोजना कार्यान्वयन समिति गठन भएपनि त्यसपछिका कुनै पनि गतिविधि नभएको प्रमुख वाग्लेले बताए । प्रमुख वाग्लेले स्थानीय तहमा मानवअधिकारको सवाललाई कार्यान्वयन गर्न अनुरोध गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाहीले तनहुँमा सन २०२५ लागे यता मानवअधिकार हननका घटना खासै नभएको बताए । मानवअधिकार कार्यान्वयनको लागि राज्यपक्ष गम्भिर भएको प्रजिअ थापा र एसपी शाहीले बताए ।
उक्त भेटमा इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलले स्थानीय तहमा मानवअधिकार सम्बन्धि कार्यक्रम कार्यान्वनयकोलागि ध्यानाकर्षण गराउनु आवश्यक भएको बताए । उक्त अवसरमा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको सहभागिता रहेको थियो ।