हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन मानव अधिकार आयोग समक्ष माग
नेपाल वाइड डटकम । २०७९ माघ २२ गते
खोटाङ, २२ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा छ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आइतबार आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापन–पत्र बुझाउँदै २०७३ माघ २६ गते विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ (१७), धारिलो हतियार प्रयोग गरेर २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ बिश्वकर्मा (५७) र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक (३७) को परिवारलाई न्याय दिलाउनका लागि पहल गर्न ध्यानाकर्षण गराएका हुन् । आयोग समक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानविन गरी पिडित परिवारलाई न्याय दिलाउन र आम नागरिकलाई राज्य र मानव अधिकारको प्रत्याभुति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फुयाँलले बताए । राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि माघ ५ गते गृह–मन्त्रालयलाई पत्राचार गरेको थियो ।
छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति उस्तै–उस्तै देखिन्छ । तर, हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ । ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै छ । महिलाको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरीको चर्को आलोचना हुने गरेको छ । दोषी पहिचान नभएको बिषयमा बिभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् भने दोषीको मनोवल बढाउन टेवा पुगिरहेको फुयाँलले बताए ।
होटलमा काम गर्दैआएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयको दाबी छ । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका छ ।
यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । हलेसीमन्दीरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमुनि उनको शव विभत्स अवस्थामा भेटिएको थियो । ज्ञानीमायाँको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तन लगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो । उनको हत्यापछि १२ आनाको रिङ, १० आनाको सौभाग्य, २ आनाको फुली, पेटीको गोजीमा राखिएको २ आनाको औंठी लुटिएको श्रीमान डिकबहादुर बिश्वकर्मा बताउँछन् । ज्ञानीमायाँको साथमा ३०८ रुपैयाँ मात्र फेला परेको थियो । उनको शव सुतेझैं अवस्थामा लडाइएको अवस्थामा भेटिएको थियो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो ।
Source: https://nepalwide.com/news/124104
HUMAN RIGHTS NEWS PORTAL






