हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित

लोकवाणी दैनिक । २०७८ मङ्सिर २६ गते

‘घरैबाट सुरू गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ सम्पन्न भएको यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘१६ दिनको अवधिमा इन्सेक अनलाइनमा सुदूरपश्चिमबाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएका समाचार प्रकाशन भए ।’ इन्सेकले मङ्सिर २६ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच÷पाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् ।

यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्याको एउटा समाचार प्रकाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘१६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भए ।’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडितकेन्द्रीत र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने लगायतका १३ बुँदे सुझाव पनि समेटिएको छ ।

‘महिला तथा तेस्रो लिङ्गीलाई सकारात्मक विभेदको नीति अबलम्बन गरी तीनै तहका सरकारले राज्यको मुलधारमा ल्याउनु पर्ने । यस्तो नीति राजनीतिक दलहरूले पनि अपनाउनु पर्ने ।’ प्रतिवेदनमा उल्लेख छ ।

Source: हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित lokwanidaily