








तु खबर डटकम । २०८१ पुस १६ गते
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठक मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बसेको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालले अहिलेको अवस्थमा जतिपनि जनघन्य अपराधहरु छन् ती सबै घटनामा प्राय जसो बालबालिकाकै संलग्नता रहेको बताएका छन् ।
देशभर ८ वटा बाल सुधार गृह रहेको जानकारी गराउँदै सबै बाल सुधार गृहमा रहेका बालबालिकाहरु आफै अपराधि र आफै पीडित रहेको पाइएको उनले बताए ।
यस्तै, जिल्ला बार एशोसियसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतले बाल अपराध बढ्नुको मुख्य कारण सम्बन्ध विच्छेद पनि रहेको बताइन् । उनले बाबु–आमा छुुट्टिएर बस्दा बालबालिका मानसिक असर पर्ने भन्दै अभिभावककै कारण पनि बालबालिकाले अपराधजन्य घटना घटाउन सक्ने बताइन् ।
यस्तै, बैठकमा बाटो नै बन्द गरेर विभिन्न मेला–महोत्सवको आयोजना गर्दा सर्वसाधारणलाई पर्न गएको असर, ग्रामीण क्षेत्रमा बत्तीको समस्या, बन्यजन्तुको आक्रमणबाट हुने गरेको मानविय तथा भौतिक क्षति लगायतको बारेमा छलफल गरिएको थियो ।
इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीको सभाध्यक्षतामा बसेको साझेदारी बैठकमा नेपाल पत्रकार महासंघ बागमतीका अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, न्यानो आँगन नेपाल, इन्सेक मकवानपुर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।