२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई
नेपाल खोज डटकम । २०७९ साउन १४ गते
काठमाडौं । इन्सेकले ‘२८औं प्रकाश मानवअधिकार पुरस्कार’ सामाजिक अभियन्ता राजुराम भुललाई दिने भएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा साउन ५ गते सम्पन्न कार्यसमिति बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकदेखि क्रियाशील दशरथचन्द नगरपालिका ४ का राजुराम भुललाई २८औं प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको उल्लेख छ ।
इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको विज्ञप्तिमा जनाइएको छ । इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसकेको इन्सेकले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा साउन १६ गते काठमाडौंमा आयोजना कार्यक्रममा भुललाई सम्मान गरिने इन्सेकले जनाएको छ ।
Source: २८औं प्रकाश मानवअधिकार पुरस्कार सामाजिक अभियन्ता राजुरामलाई – NepalKhoj