६ महिनामा डोटीमा घटे २५ वटा मानव अधिकार उलङ्घनका घटना

मुलुक न्यूज डटकम । २०८० असार १२ गते

डोटी : जिल्लामा मानव अधिकार उलङ्घनका घटनामा महिला हिंसा बढी घट्ने गरेको पाइएको छ । मङ्गलवार सिलगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षा गोष्ठीबाट यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेशको आयोजनामा सञ्चालन भएको गोष्ठीमा बितेको ६ महिनामा २५ वटा मानव अधिकार उलङ्घन सम्बन्धीका घटना घटेका छन् । इन्सेक डोटीका जिल्ला प्रतिनिधि गणेश जोशीका अनुसार दर्ता भएका २५ घटना मध्ये २४ वटा घटना महिला हिंसा सम्बन्धीका रहेका छन् भने एउटा घटना करणी सम्बन्धीको रहेको छ । जोशीले गोष्ठीमा जिल्लाको अर्धवार्षिक स्थितिको बारेमा जानकारी गराएका थिए । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मानव अधिकार उलङ्घन सम्बन्धीका घटना हुन नदिन घटेका घटना तथ्य र तर्कमा रहेर सार्वजनिक गर्नुपर्ने बताए ।

समाजमा घट्ने जातीय विभेद, महिला हिंसा लगायतका घटनाको न्यूनीकरणका लागि सबैले समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको प्रजिअ अर्यालले बताए । रेकर्डमा २५ घटना मात्रै आएको भए पनि समाजमा विभिन्न बहानामा मानवअधिकार उलङ्घनका घटना घट्ने गरेको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनाराले बताइन् । समाज तथा परिवारको डरले धेरै जसो पीडितहरू पिडा लुकाएर बस्न बाध्य भएकाले इन्सेकले त्यस्ता घटना पनि बाहिर ल्याउन मद्दत गर्नेमा उपप्रमुख चुनाराको विश्वास छ । गोष्ठिबाट इन्सेकले वार्षिक पुस्तकको लागि सुझाव संकलन गरेको छ । समाज घट्ने विभिन्न घटना तथा परिवेशलाई समेटेर प्रत्येक वर्ष इन्सेकद्धारा वर्ष पुस्तक सार्वजनिक हुने गरेको छ ।

Source: https://muluknews.com/archives/15776