इन्सेकद्वारा किशोरीहरूलाई मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम
गामघर डटकम । २०८३ बैशाख १४ गते
विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा बुढीगंगा गाउँपालिकाको आयोजनामा बुढीगंगा गाउँपालिकामा किशोरी शिक्षा र मानव अधिकारसम्बन्धी २ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर कुमार पोखरेल, इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटा, गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले किशोरी शिक्षा, किशोरीका मुद्दा र मानव अधिकार, यौन तथा प्रजनन अधिकार, तनाव व्यवस्थापन, नेतृत्व विकास, सूचना प्रविधि र समाजिक सञ्जालबाट हुने हिंसा र अपराध तथा हिंसाबाट जोगिने उपायलगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार जस्ता घटनाहरूलाई न्युनीकरण गर्नका लागि किशोरीहरूलाई नै सचेत बनाउन र आत्मबल बढाउन आवश्यक रहेको बताउनु भयो । डरत्रासमा परेर मौन बस्दा हिंसाजन्य गतिविधि बढने भएकोले प्रतिकार गर्न र सम्बन्धित निकायमा उजुरी गर्न अध्यक्ष थापा मगरले आग्रह गर्नुभयो ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले किशोरीहरूलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुहुँदै गाउँपालिकाकी उपाध्यक्ष गच्छदारले सहभागी किशोरीहरूले गाउँ समाजमा हुने लैङ्गिक हिंसा, घरेलु हिंसा तथा बालविवाह जस्ता सामाजिक विकृति पहिचान गरी त्यसको विरुद्धमा आवाज उठाउनु पर्ने बताउनु भयो ।
लैङ्गिक हिंसा चुनौतिको रुपमा रहेकोले किशोरीहरूलाई सक्षम बनाई उनीहरूबाटै सचेतना फैलाउन सके हिंसा न्यूनिकरण हुने भन्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले हिंसारहित समाज निर्माणका लागि सबै सचेत र संवेदनशील हुनुपर्ने बताउनु भयो । किशोरीहरूको सशक्तिकरणद्वारा नेतृत्व विकास गर्दै न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि नीतिगत पैरवी तथा सचेतनामूलक अभियान सँगै सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत प्रयाश भट्टराईले विद्यमान सामाजिक विकृति तथा कुप्रथा न्यूनीकरणका लागि किशोरीहरू सचेत, आत्मविश्वासी र सामाजिक गतिविधिमा नेतृत्व लिन तयार हुनुपर्ने बताउनु भयो । लैङ्गिक हिंसा न्यूनिकरणका लागि गाउँपालिकाले विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्नुहुँदै उहाँले लैङ्गिक हिंसाप्रति शुन्य सहनशिलताको नीति अनुसार अघि बढनुपर्ने बताउनुभयो ।
समापनका अवसरमा सहभागी भारती खत्वेले प्रशिक्षणबाट किशोरीको मुद्दाहरू पहिचान गर्न आवश्यक सीप प्राप्त भएको र त्यस्ता विकृतिहरूको विरुद्ध आफूहरू लड्न तयार रहेको बताउनु भयो । अर्का सहभागी रेणुका सरदारले आफूजस्ता किशोरीहरूको सुरक्षाका लागि तालिक निकै उपयोगी भएको र आवश्यक सीपले सुरक्षित रहने र अगाडि बढने प्रेरणा प्राप्त भएको बताउनु भयो ।
विद्यमान सामाजिक विकृति तथा कुप्रथा न्यूनीकरण गर्दै किशोरीहरूलाई सचेत, आत्मविश्वासी र सुरक्षित बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा सात वडाका ४५ जना किशोरीको सहभागिता रहेको थियो ।
Source: https://shorturl.at/HJGaN
HUMAN RIGHTS NEWS PORTAL






