इन्सेकद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

नेपाल खोज डटकम । २०७९ मङ्सिर ५ गते

काठमाडौं । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले निर्वाचन आयोगका प्रमुख दिनेश थपलियालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन निर्वाचन भएकै दिन मङ्सिर ४ गते साँझ बुझाइएको छ । निर्वाचन सकिएलगत्तै इन्सेकले आयोग परिसरमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियालाई प्रतिवेदन बुझाइएको हो । प्रतिवेदनमा काठमाडौं तथा ललितपुरका धेरैजसो मतदानस्थलमा पत्रकार तथा पर्यवेक्षकलाई अवरोध गरेको पाइएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोग र राजनीतिक दलहरूलाई सुझाव समेत दिइएको छ । प्रतिनिधि सभाका लागि २ सय ७५ र र प्रदेश सभाका लागि ५ सय ५० स्थानका लागि देशैभर निर्वाचन भएको हो । यो निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा १ सय ६५ र समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० जना निर्वाचित हुनेछन् । १५ ओटा मतदानस्थलमा मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ ।

इन्सेकले अभिलेख गरेको घटना अनुसार हवाइ फायरका ६९ घटना भएका छन् भने विष्फोटका आठ घटना भए । १२ ओटा जिल्लामा ३८ ओटा विष्फोटक पदार्थ फेला परेका थिए । ’यो निर्वाचन अनुगमनका लागि इन्सेकले देशका सबै जिल्लामा ७ सय ५१ जना पर्यवेक्षक परिचालन गरिएको छ । पर्यवेक्षक तथा जिल्ला प्रतिनिधिबाट प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार पारिएको हो ।’–इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले भनिन् । प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता शिक्षालाई पाठ्यक्रममै समावेश गराउनुपर्ने बताए । उनले २०४८ सालको आम निर्वाचनदेखि नै इन्सेकले आफ्नो संयन्त्रमार्फत सूचना सङ्कलन गरी निर्वाचनकै दिन प्रतिवेदन बुझाउने गरेको भन्दै प्रशंसा गरे । उनले यसअघि इन्सेकले दिएको सुझाव अनुसार आयोगले आवश्यक सुधार गर्दै आएको बताए ।

Source: https://www.nepalkhoj.com/2022/11/21/226081/