इन्सेकद्वारा सञ्चालित परियोजनाको समाज कल्याण परिषद्द्वारा अनुगमन

कास्की । २०८३ बैशाख ८ गते

अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले गण्डकी प्रदेशमा सञ्चालन गर्दै आएको मानव अधिकार सम्बन्धी कार्यक्रमको समाज कल्याण परिषद्को टोलीले अनुगमन तथा सरोकारवालासँग ०८३ वैशाख ७ गते पोखरामा अन्तरक्रिया गरेको छ । डा. मुक्ति रिजालको संयोजकत्वमा रहेको अनुगमन टोलीमा परिषद्का प्रतिनिधि विमला लुइटेल, चार्टर्ड एकाउन्टेन्ट विशाल बराल, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल तथा इन्सेक गण्डकी प्रदेश प्रलेख अधिकृत मंगिता नेपालीलगायतको सहभागी रहेको थियो ।

अनुगमनका क्रममा टोलीले स्थानीय प्रशासन, नागरिक समाज, तथा मानव अधिकारकर्मीहरूसँग परियोजनाको प्रभावकारिता, समन्वय र कार्यान्वयन अवस्थाबारे जानकारी लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आयोजित भेटघाटमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा मानव अधिकार संरक्षणमा प्रशासनसँग इन्सेकको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सबै निकायले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेमा मात्र सामाजिक समस्याहरूको समाधान सम्भव हुने उल्लेख गर्नुभयो ।

शर्माका अनुसार गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा जनसंख्या चाप र प्रशासनिक जिम्मेवारी बढी रहेको छ । महिला हिंसा, बालअधिकार उल्लंघन तथा घरेलु हिंसाका घटनाहरू अझै चुनौतीका रूपमा रहेका छन् । यस्ता घटनाका पीडितलाई न्याय दिलाउन प्रशासन, न्यायिक समिति, सामाजिक संस्थाहरू तथा इन्सेकबीच समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरूले मानव अधिकार संरक्षणमा इन्सेकको भूमिका प्रभावकारी रहेको उल्लेख गरेका थिए । इन्सेकका कार्यक्रमले पीडितहरूलाई राहत दिलाउन, सूचना प्रवाहलाई सहज बनाउन तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको उनीहरूको भनाइ थियो । साथै, विगतका अनुभवका आधारमा कार्यक्रमलाई अझ सुदृढ बनाउनुपर्ने सुझाव समेत दिइएको थियो ।

मानव अधिकारकर्मी केशु भुजेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा निरन्तर रूपमा सरोकारवाला निकायलाई झक्झकाउने भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले कानुन परिमार्जनका लागि ध्यानाकर्षण गराउने, वकालतलाई सशक्त बनाउने तथा मानव अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, एकल महिला समूहकी जुना के.सीले इन्सेकको सहयोगबाट पीडितहरूले राहत पाएको अनुभव साझा गर्नुभयो । उहाँका अनुसार इन्सेकले अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै सहकार्य र समन्वयमार्फत पीडितलाई आवश्यक सहयोग पु¥याएको छ ।

नवयुवा पुस्ता प्रतिनिधि सन्ध्या श्रेष्ठले मानव अधिकार सुनिश्चिततामा इन्सेकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यकता अनुसार सहयोग र समर्थन निरन्तर प्राप्त भइरहेको बताउनुभयो ।

कार्यक्रममा सिविन नेपालका शंकर नेपालीले विविधतायुक्त समाजमा मानव अधिकारका सवालहरू बुझ्न र उठाउन इन्सेकमार्फत महत्वपूर्ण जानकारी प्राप्त हुने गरेको बताउनुभयो । उहाँले मानव अधिकार केवल सैद्धान्तिक विषय नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने विषय भएकोमा जोड दिनुभयो । उहाँका अनुसार अभिलेखीकरणको क्षेत्रमा इन्सेक अग्रणी संस्थाका रूपमा स्थापित रहेको छ । साथै, मुद्दाहरूको पहिचान र उठान तथा प्रभावकारी अभिलेखीकरण अझै चुनौतीका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नियोक गण्डकी प्रदेशका संयोजक विष्णु बरालले छलफलका क्रममा कानुनी शासन र विधिको शासनलाई सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो साथै राजनीतिक प्रभावभन्दा माथि उठेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा सरोकारवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

कोपिला नेपालकी बिना सिलवालले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै गैर सरकारी संस्थाको विविध क्रियाकलापमा हुने कानूनी र प्रशासकीय बाधा अवरोधलाई न्यूनिकरण गरि सहज वातावरण सिर्जनाका निम्ति समाज कल्याण परिषद माझ छलफल गर्नुभयो ।

छलफलका क्रममा सहभागीहरूले मानव अधिकार संरक्षणका लागि नागरिक समाज, सरकारी निकाय र इन्सेकबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले विशेष गरी महिला अधिकार, बालअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

  गण्डकी प्रदेश कार्यालय