कप्तानगञ्ज गोलीकाण्ड : अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
न्यूज टुडे डटकम । २०८३ साउन १७ गते
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हत्या घटनाको विषयमा सत्य तथ्य बुझ्न इन्सेक, सिजप, सिविन, नर्थ साउथ कलेक्टिभ्स र मानव अधिकार सञ्जालले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले पीडित परिवारसँग भेट गरी घटनाको वस्तुस्थितिको बारेमा जानकारी लिएको हो ।
मृतक ओमप्रकाश मेहताका बुबा कृष्णदेव मेहताका अनुसार साउन १० गते राति डिजेको विषयमा विवाद हुँदा एक्कासी लाठीचार्ज गरेका इन्स्पेक्टर रमेश राईको टाउको फुटेपछि आवेशमा आएर हवाइ फायर गरेको र सशस्त्र प्रहरीले गोली चलाएको हो ।
मृतक जयप्रकाश मेहताका बुबा नरेश मेहताले सिटी सफारी चलाएर परिवारको जिविकोपार्जन गरिरहेका एक मात्र छोरा गुमाउँदा परिवारको सहारा खोसिएको र जीवनभरको लागि एक्लो भएको बताए । दोषीलाई कानुनी कारबाही र न्यायका लागि पहल गरिदिन उनले माग गरे।
घाइतेहरुको प्राथमिक उपचार गरेका पब्लिक पोलिक्लिनिकका सञ्चालक जयकृष्ण मेहताले व्यक्ति र समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमान गर्ने, घृणा फैलाउने, हिंसा बढाउने घृणास्पद अभिव्यक्तिले द्वन्द्व र विभाजन बढेको तथा हिंसा र अशान्तिलाई प्रोत्साहन मिलेको बताए ।
गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भिंडलाई तितरवितर गर्ने अनेकौ विकल्प हुँदाहुँदै अनावश्यक बल प्रयोग गरी छाती, पेट, कम्मरमा लाग्ने गरी गोली चलाएको घटनाप्रति गम्भीर आक्रोश व्यक्त गरे । गोली चलुञ्जेल लामो समयसम्म बत्ती जानु शंकास्पद रहेको भन्दै उनले सम्बन्धित व्यक्तिहरुको कल डिटेल्स परीक्षण, प्रत्यक्षदर्शीको भनाई र बजारमा लागेको सीसीटिभी क्यामेराको फुटेजका आधारमा सुक्ष्म र न्यायिक छानबिन गर्नुपर्ने माग गरे ।
जल भरेर शिव भगवानलाई चढाउन जाने बोलबम यात्रीहरुलाई चर्को आवाजको डिजे नबजाउन भन्दा सामान्य झडप भएपछि हाम्रो गाउँमै प्रवेश गरेर आक्रमण गर्न तम्सिएको ठूलो समूहलाई सुरक्षाकर्मीले रोकेको देवानगञ्ज गाउँपालिका–४ का तफेजुल मन्सुरीले अनुगमन टोलीलाई बताए । हामी घर फर्किए पछि गोलीको आवाज सुनिएको र दुखद घटना भएको बताउँदै उनले बजारमा रहेको हाम्रा पसलहरु तोडफोड र आगजनी गरिएको बताए ।
आगजनी भएको पसलहरु हेर्न जाँदा कुटपिट भएपछि बजार निस्कन नपाएको र गाउँमा खाधान्न संकट उत्पन्न भएको पाकिजा फार्मेसी र मुस्कान स्वास्थ्य क्लिनिकका सञ्चालक कलाम मन्सुरीले बताए ।
अनुगमनको क्रममा इन्सेकसहितको संयुक्त टोलीले मृतक परिवारका सदस्यहरु, छिमेकीहरु, प्रत्यक्षदर्शी, प्रदर्शनमा संलग्न व्यक्तिहरु, बजारका व्यापारीहरु, आगजनीले क्षति भएका पसलेहरु, सशस्त्र प्रहरी बल कप्तानगञ्जका डिएसपी मदन नाथ, इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर प्रकाश पराजुलीलगायतसँग भेटघाट गरेको थियो । भेटघाटको क्रममा स्थानीयवासीले मोहर्रमका बेला चोकमा झुण्ड्याएको तीन ओटा झण्डा हटाउने तथा भगवान राम र हनुमानको झण्डा झुण्ड्याउने विषयमा विभिन्न निकायहरू र सम्बद्ध संयन्त्रहरूबीच समन्वयको अभावले घटना भएको बताउँदै निष्पक्ष छानबिन गरी द्वन्द्वको वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिए ।
घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्ने धारणा स्थानीय नागरिकले व्यक्त गरेको अध्ययन टोलीले जनाएको छ ।
अध्ययनका क्रममा प्रभावित क्षेत्रको स्थिति पूर्ण रूपमा सामान्य भइ सकेको छैन । सरकार र पीडित पक्षबीच लिखित सहमति भए पनि न्याय र कार्यान्वयनको पक्षलाई लिएर स्थानीय स्तरमा अझै पूर्ण विश्वसता आइसकेको छैन।
स्थानीय स्तरमा तनाव कम गर्न र नागरिकबीच विश्वासको वातावरण बनाएर जनजीवनलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन, सामाजिक सद्भाव, पारस्परिक सहिष्णुता र शान्ति कायम गर्न नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरूबीच समन्वय र सक्रिय भूमिका आवश्यक रहेको इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले बताए ।
अध्ययन भ्रमणमा इन्सेकका पोखरेल, दीपेन्द्र झा, सिजपका संयोजक यज्ञ शर्मा, मानव अधिकार सञ्जालका अध्यक्ष वासु अधिकारी तथा नर्थ साउथ कलेक्टिभ्सका अध्यक्ष दिनेश श्रेष्ठ सहभागी थिए ।
इन्सेकले यसअघि पनि छुट्टै अनुगमन गरेको थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर तत्कालै ३० वर्षीय ओमप्रकाश मेहताको र उपचारका क्रममा २२ वर्षीय जयप्रकाश मेहताको साउन १४ गते दिउँसो १ः२४ बजे मृत्यु भएको थियो ।
गोली लागेर घाइते भएका आठ जना उपचाररत छन् । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ । घटनापछि बढेको हिंसा व्यक्ति केन्द्रित आक्रमण, आगजनी, तोडफोड, लुटपाटमा पुगेपछि सक्रियता देखाएका गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर मृतक परिवारसँग साउन १४ गते सातबुँदे सहमति गरेका छन् ।
Source: https://shorturl.at/u60Go
HUMAN RIGHTS NEWS PORTAL






