कर्णालीमा बढ्दो पारिवारिक विचलन, श्रीमान्–श्रीमतीबीचकै सम्बन्ध असुरक्षित

शिलापत्र डटकम । २०८२ साउन १७ गते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा आइतबार एउटा घटना घट्यो । ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीय श्रीमती रविना थापाको काठले प्रहार गरी बीभत्स हत्या गरे । बिहान करिब साढे १ बजेको समयमा ठाडाले सुतिरहेकी रविनाको टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।

हत्यालगत्तै जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार ठाडाले श्रीमतीको हत्यापछि प्रहरीलाई आफैँले फोन गरेका थिए । १७ असार २०८२ मा रुकुम पश्चिमको चौरजहारी नागरपालिका–३, टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको पनि हत्या भयो । देविकाको बीभत्स हत्याको घटनामा उनका श्रीमान् ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी संलग्न थिए । चन्द्रबहादुरले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए ।

यस्तै, २१ वैशाख २०८२ मा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, भिंगेनामा पनि एक बीभत्स हत्याको घटना बाहिरियो । उक्त घटनामा गुर्भाकोट नगरपालिका–८ की २६ वर्षीया प्रेमा ओलीको उनका श्रीमान् २८ वर्षीय दर्शन खत्रीले बीभत्स हत्या गरेका थिए । नेपाली सेनामा कार्यरत दर्शनले परपुरुषसँग लागेको आशंकाबीच प्रेमाको बीभत्स तवरबाट हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै, २३ पुस २०८० मा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दुई बालबालिकाको हत्या भयो । सो हत्यामा तीन वर्षीया करिष्मा राना र ६ महिने राघवी रानालाई उनीहरूकै २३ वर्षीया आमा पूर्णिमा रानाले घाँटी थिचेर हत्या गरेकी थिइन् । १ माघ २०८० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका २१ वर्षीय युवक भरत बुढाको उनकै ४५ वर्षीय बुवा नयराम बुढाले बञ्चरो प्रहार गरेर हत्या गरे ।

मृतकका काकाले ३ माघ २०८१ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार रहेका उनी कैलालीको टीकापुरबाट पक्राउ गरिएको थियो ।  उनलाई सुर्खेत जिल्ला अदालतले ५ जेठ २०८१ मा २० वर्ष कैद सजायको फैसला गरेको छ । उल्लेखित बीभत्स हत्याका घटना केही प्रतिनिधिमुलक हुन्, जो पछिल्लो समय सबैभन्दा नजिक र सुरक्षित सम्बन्ध मानिने श्रीमान्-श्रीमतीबीच नै विचलन आएर हत्या तथा हिंसाले प्रसय पाउने क्रम बढ्न थालेको छ ।

कर्णालीमा पारिवारिक बेमेलका कारण श्रीमान् तथा परिवारका सदस्यहरूबाटै हुने बीभत्स हत्याका घटनमा वृद्धि हुँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकलाई विश्लेषण गर्ने हो भने तीन आर्थिक वर्षको अवधिमा प्रदेशभर नजिकका आफन्त र परिवारका सदस्यबाट ४२ जनाको हत्या भएको देखिन्छ । 

प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कर्णालीमा आर्थिक वर्ष २०७९-८० मा १० जनाको आफन्त तथा परिवारका सदस्यबाट हत्या भएको छ । यस्तै, २०८०-८१ मा २२ र आर्थिक वर्ष २०८१-८२ मा ९, चालु आर्थिक वर्षको ११ साउनसम्म दुई जनाको हत्या परिवार र आफन्तबाटै भएको प्रहरीको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार तीन आर्थिक वर्षको अवधिमा श्रीमान्‌द्वारा श्रीमती हत्याका २४ घटना घटेका छन् । यस्तै, यो अवधिमा श्रीमतीद्वारा श्रीमान् हत्याका तीन घटना घटेको प्रहरीको तथ्यांकले देखाउँछ । परिवारजनबाटै हत्या हुनुमा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारण जोडिने गरेको बताउँछन्, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी माधवप्रसाद श्रेष्ठ ।

पारिवारिक बेमेलपछि हुने हत्याका घटनामा विविध कारण जोडिएर आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अधिकांश हत्या आपसी विवाद, शंका, अविश्वास र बारम्बारको असमझदारीबाट भएको देखिन्छ । श्रीमतीमाथि हुने हत्या प्रायः दम्पतीबीचको आपसी अविश्वास मुख्य छ ।’ उनले हत्याजस्ता जघन्य अपराधको पछाडि मदिरा सेवन रहेको बताए ।

श्रीमान्–श्रीमतीबीच हुने स-साना असमझदारीका घटनाले ठूलो रूप लिँदा ९० प्रतिशत महिलाहरू सम्बन्ध विच्छेदको निवेदन लिएर आउने गरेको बताउँछिन्, विगत लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था नवज्योति केन्द्रकी निर्देशक सिस्टर रोसिटा । कानुनी सचेतना तथा समाज र परिवारको डरले ६० प्रतिशत महिला हिंसा बाहिर नआउने गरेको उनी बताउँछिन् ।

सम्बन्ध विच्छेद र घरेलु हिंसाको असर बालबालिकामा पर्ने गरेको उनले बताइन् । पारिवारिक हिंसाका कारण ठूलो संख्यामा बालबालिकाको भविष्य नै अन्धकारतर्फ धकेलिँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । ‘महिला अधिकारका क्षेत्रमा धेरै कानुन बनेका छन् । तर, कार्यान्वयनको पाटो भने निकै फितलो छ,’ उनी भन्छिन्, ‘समाजमा महिला र पुरुषलाई हेरिने दृष्टिकोण समान नहुनु, एकले अर्काको अस्तित्व स्वीकार नगर्नु, हिंसालाई दबाएर राख्नु, कानुनी सचेतना नहुनुलगायतका कारणले महिला अधिकार हननका घटना बढिरहेका छन् ।’

मानवअधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले परिवारजनबाट हुने हत्या तथा हिंसाका घटनाले घर नै असुरक्षित बन्दै जान थालेको बताउँछन् । ‘पहिलो कुरा यस्ता घटनाको सजायमा समस्या छ । यदि सजाय भए पनि राजनीतिक रूपमा संरक्षण गर्ने, आममाफी दिने कुराले झनै प्रश्रय दिएको पाइन्छ,’ उनी भन्छन्, ‘घरमै यति धेरै हत्या हुनु भनेको राज्य, समाज र परिवार तीनवटै तह असफल भइरहेको देखाउँछ ।’ उनले सन् २०२० जनवरीदेखि सन् २०२५ जुलाईसम्म कर्णालीमा २६ सय ६६ मानव अधिकार उल्लंघन र ज्यादतीका घटना भएको बताए । त्यसमध्ये १५ सय ७२ वटा महिला अधिकार हननका घटना घटेको सुवेदी बताउँछन् । यो अवधिमा महिला अधिकार उल्लंघनमा महिला हत्याका ८६ र महिला बेचबिखनमा १९ जना पीडित भएको इन्सेकले तथ्यांक अभिलेख गरेको छ । यस्तै, अन्य मानव अधिकार उल्लंघनका ९ सय ८९ घटना घटेको इन्सेकको अभिलेखमा छ ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रयाप्त कानुनी व्यवस्था हुनुका साथै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुवेदी बताउँछन् । यस्तै, मानसिक रोगबाट ग्रसित नागरिकहरूको निगरानी, उपचार र नियमन प्रणाली विकास गर्नुका साथै परिवारलाई जिम्मेवारी तथा जवाफदेही हुने प्रणालीको व्यवस्था हुनुपर्ने सुवेदी बताउँछन् ।

देशभर सात हजार बढी महिलामाथि हिंसा

इन्सेकको तथ्यांक अनुसार, देशभर पाँच वर्षको अविधिमा ७ हजार ५८३ महिलाले हिंसा पीडित बनेका छन्, जसमा सबैभन्दा धेरै घरेलु हिंसाका घटनामा ५ हजार ८७६ महिला पीडित भएका छन् । यस्तै, परिवारजनबाट एक सय महिलाको महिलाको हत्या भएको छ । यो अवधिमा सात महिलाको बलात्कारपछि हत्या भएको तथ्यांक छ ।

बेचबिखन तथा ओसारपसारमा ६०, बेचबिखन तथा ओसारपसार प्रयासमा २२, बोक्सीको आरोपमा २९, बलात्कारमा ६ सय ६४ महिला पीडित बनेका छन् । यस्तै, हाडनाता करणीमा २३, वैवाहिक बलात्कारमा २३, सामूहिक बलात्कारमा २५, बलात्कार प्रयासमा १४४,  यौन दुर्व्यवहारमा ३२, साइबर अपराध २६६ र दाइजोसँग सम्बन्धित हिंसाबाट २१२ महिला पीडित बनेको इन्सेकको तथ्यांकले देखाउँछ । 

Source: https://shorturl.at/1tU26