घोडाघोडीमा मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८३ असार १६ गते
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग, इन्सेकको समन्वय, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको सहकार्य तथा वि सञ्चार मिडिया प्रालिको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख मानबहादुर कार्कीले ‘व्यवसाय र मानव अधिकार’ विषयमा प्रस्तुति दिएका थिए। उनले व्यवसाय र मानव अधिकारको अवधारणा, राज्यको दायित्व, संयुक्त राष्ट्रसंघद्वारा जारी व्यवसाय र मानव अधिकारसम्बन्धी निर्देशक सिद्धान्त, मानव अधिकारका तीन खम्बा तथा व्यवसायजन्य क्रियाकलापले मानव अधिकारमा पार्ने प्रभावबारे विस्तृत जानकारी गराएका थिए ।
त्यसै गरी, उनले व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना, निर्देशक सिद्धान्तका आधारमा तयार गरिएका कार्य योजनामा समेटिएका विषयवस्तु, राष्ट्रिय कार्य योजनाको अनुगमन तथा मूल्याङ्कन प्रक्रिया, राष्ट्रिय मानव अधिकार आयोगको भूमिका तथा राष्ट्रिय कार्य योजनाबाट अपेक्षा गरिएका उपलब्धिबारे पनि सहभागीहरूलाई जानकारी गराएका थिए ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको अवधारणा, नेपालको संवैधानिक व्यवस्था, नागरिकका अधिकार तथा राज्यको दायित्व, मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका, मानव अधिकार उल्लङ्घनका घटना तथा त्यसको न्यूनीकरणका उपायलगायतका विषयमा सहजीकरण गरेका थिए ।
प्रशिक्षणका क्रममा जोशीले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र सम्मानका लागि सरकारी निकाय, जनप्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले स्थानीय तहले विकास निर्माणसँगै मानव अधिकारमैत्री शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले मानव अधिकारसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यसबारे प्रस्ट पारेका थिए । आयोजकका अनुसार स्थानीय तहमा मानव अधिकारप्रति जनप्रतिनिधि, सरोकारवाला तथा नागरिकको ज्ञान, सचेतना र जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरभित्रका विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
HUMAN RIGHTS NEWS PORTAL






