जेन–जेडको चेतावनीः राजनीति नबदलिए नयाँ संकट अपरिहार्य

समाचार दैनिक डटकम । २०८२ मङ्सिर २८ गते

जनकपुरधाम । राजनीतिक दलहरूले जेन–जेड युवा तथा महिलालाई प्राथमिकताका साथ सहभागी नगराएसम्म मुलुकमा शान्ति, सुशासन र दिगो विकास सम्भव नहुने निष्कर्ष सार्वजनिक रूपमा व्यक्त भएको छ । जनकपुरधाममा ‘राइट्स क्लिनिक’द्वारा आयोजित ‘आसन्न आमनिर्वाचनः जेन–जेड युवा र महिलाको सहभागिता’ विषयक संवाद कार्यक्रममा सहभागी जेन–जेड युवाहरूले अहिलेको राजनीतिक नेतृत्वप्रति तीव्र असन्तोष पोख्दै संरचनागत परिवर्तनको माग गरेका हुन् ।

कार्यक्रममा सहभागी जेन–जेड युवाहरूले स्पष्ट शब्दमा भने ‘अब केवल पुराना नेताहरूको नेतृत्वबाट देशको रूपान्तरण सम्भव छैन । उनीहरूले राजनीतिक दलहरूको निर्णय तहदेखि उम्मेदवार छनोटसम्म कम्तीमा ४० प्रतिशत युवा र महिलाको सहभागिता सुनिश्चित गर्न माग गरे । युवाहरूका अनुसार सहभागिता केवल प्रतीकात्मक होइन, नीति निर्माण र कार्यान्वयनमा निर्णायक भूमिका सहित हुनुपर्छ ।’

युवाहरूले भदौ २३ र २४ गतेको आन्दोलनको सन्दर्भ उठाउँदै भने ‘वर्षौंदेखि जड बनेका राजनीतिक संरचनामा परिवर्तन असम्भव ठानिए पनि २७ घण्टाभित्रै सत्ता र व्यवहारमा परिवर्तन सम्भव भएको प्रमाणित भइसकेको छ । यदि आसन्न निर्वाचनमा युवा र महिलालाई संख्याको आधारमा समेत टिकट दिइएन भने अहिलेभन्दा अझ गम्भीर राजनीतिक संकट उत्पन्न हुन सक्ने चेतावनी उनीहरूले दिए । यो भनाइ केवल आक्रोश नभई, दीर्घकालीन राजनीतिक अस्थिरताको संकेतका रूपमा समेत बुझ्नुपर्ने देखिन्छ ।’

जानकी महिला जागरणकी अध्यक्ष तथा राइट्स क्लिनिककी सदस्य मन्दाकिनी कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेन–जेड युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान नेतृत्वप्रति अविश्वास प्रकट गर्दै देश भ्रष्टाचार, महँगी र ऋणको चपेटामा परेको आरोप लगाए । उनीहरूको भनाइमा जनतामाथि ऋणको बोझ थपिँदै गएको छ, तर सत्तामा रहेका नेताहरू व्यक्तिगत समृद्धिमा मात्र केन्द्रित छन् । निर्वाचनको बेला सुटकेस बोकेर मत माग्ने संस्कृतिले राजनीति बदनाम बनाएको भन्दै युवाहरूले चेतावनीपूर्ण शब्दमा भने—यदि नेताहरू सचेत भएनन् भने युवा पुस्ताले अर्को कदम चाल्न सक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूको उपस्थिति रहेको थियो। यही मञ्चबाट जेन–जेड युवाहरूले कडा स्वरमा भने ‘यदि दलहरू समयमै सुध्रिएनन् भने युवाहरूको नेतृत्वमा छुट्टै राजनीतिक पार्टी गठन नहुने ग्यारेन्टी छैन । यो भनाइले स्थापित दलहरूप्रति बढ्दो अविश्वास र वैकल्पिक राजनीतिक शक्तिको सम्भावनालाई उजागर गरेको छ ।’

विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रप्रति जेनजेड युवा तथा महिलाको आक्रोश बढी देखिएको थियो। उनीहरूले आफ्नो आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न दलहरूलाई अपीलसमेत गरे। युवाहरूको दबाबपछि नेताहरूले विभिन्न प्रतिबद्धता व्यक्त गरे पनि ती प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुने–नहुने प्रश्न यथावत् रहेको देखिन्छ।

जेनजेडको मागप्रति प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले माओवादी केन्द्रले आफ्नो विधानमा जेनजेड युवालाई भातृ संगठनका रूपमा समेट्ने र पार्टीका सबै निकायमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । नेकपा एमालेकी मधेश प्रदेश महिला विभाग संगठन प्रमुख शारदा थापाले पनि कार्यक्रमबाट उठेका विषय पार्टीभित्र उठाउने आश्वासन दिँदै युवा र महिलाको आक्रोश जायज रहेको स्वीकार गरिन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामआशिष यादवले युवा तथा महिलाको सार्थक सहभागिताका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे । उनले मधेशवादी दलहरू सुरुदेखि नै यस विषयमा आन्दोलनरत रहेको उल्लेख गरे । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव परमेश्वर साहले राजनीतिक दलमा युवा तथा महिलाको सहभागिता अनिवार्य भए पनि त्यसका लागि उनीहरू स्वयं सक्रिय भएर अघि बढ्नुपर्ने बताए। बिना संघर्ष उपलब्धि सम्भव नहुने उनको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा वरिष्ठ मानव अधिकारकर्मी सुशिल प्याकुरेलले पनि युवाहरू र महिलाको हरेक राज्य संयन्त्रमा सहभागिताका लागि आफू विगतदेखि नै आवाज उठाउँदै आएको बताए ।  कार्यक्रममा नेपाली काँग्रेसका धनुषा उपाध्यक्ष गणेश झा, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य विभा ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका सचिव संजय चौधरी, राइटस क्लिनिका कैलास दास, रिंकु यादव, राजु पासमान सहितका व्यक्तिहरुले पनि आ–आफ्ना धारणा राखेका थिए ।

समग्रमा, यो संवाद कार्यक्रम केवल एउटा छलफलमा सीमित रहेन; यसले नेपाली राजनीतिमा जेन–जेड युवा तथा महिलाको बढ्दो असन्तोष, अपेक्षा र सम्भावित वैकल्पिक राजनीतिक मार्गको संकेत स्पष्ट रूपमा दिएको छ। यदि स्थापित दलहरूले यो आवाजलाई समयमै गम्भीरतापूर्वक नसुने, त्यसको परिणाम आगामी निर्वाचन र समग्र राजनीतिक संरचनामा गहिरो रूपमा देखिन सक्ने संकेत कार्यक्रमले दिएको छ ।

Source: https://esamachardainik.com/2025/12/14/5529/

Source: https://shirishnews.com/2025/12/15/83046/