दिगो विकासका लक्ष्यमा सहकार्य गर्ने सुनसरी–मोरङ औद्योगिक कोरिडोरका सरोकारवालाको प्रतिवद्धता

इकान्तिपुर डटकम । २०८३ बैशाख १४ गते

उद्योग, कलकारखाना तथा व्यवसाय सञ्चालन गर्दा मानवअधिकारका आधारभूत सिद्धान्तको पूर्ण सम्मान गर्दै कानुनी व्यवस्था पालना गर्ने प्रतिवद्धता गरेका छन् ।

सुनसरी — सुनसरी–मोरङ औद्योगिक कोरीडोर अन्तर्गत पर्ने दुहबी नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा व्यवसायीहरूले वातावरण संरक्षण र मानवअधिकारको सम्मान गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशको आयोजना तथा दुहबी नगरफालिकाको समन्वयमा सोमबार आयोजित वातावरण र मानवअधिकार विषयक अन्तरक्रिया कार्यत्रमका सहभागीले साझा प्रतिबद्धता पत्र जारी गरेका हुन् । 

उनीहरुले उद्योग, कलकारखाना तथा पेशा–व्यवसाय सञ्चालन गर्दा मानवअधिकारका आधारभूत सिद्धान्तको पूर्ण सम्मान गर्दै कानुनी व्यवस्था पालना गर्ने प्रतिवद्धता गरेका छन् । यस्तै, वातावरणीय अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वयनमा पनि जोड दिइएको छ । 

मानवअधिकार उल्लंघन सम्बन्धी गुनासो सुनुवाइ र समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्ने, जीवन, स्वास्थ्य, खाद्य, पानी र सरसफाइजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न पहल गर्ने विषय पनि समेटिएको छ। प्रतिबद्धता पत्रमा वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, फोहोरमैला व्यवस्थापन ऐन २०६८ लगायत विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । 

साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वातावरणीय अधिकारको पूर्ण कार्यान्वयनका लागि सहकार्य गर्ने जनाइएको छ । जलवायु परिवर्तनका कारण मानव जीवन र प्रकृतिमा परेको असर न्यूनीकरण गर्न दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर सक्रिय रहने, स्वच्छ पानी, सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुाच विस्तार गर्ने तथा जैविक विविधता संरक्षणमा प्रतिबद्ध रहने सहभागीहरूले जनाएका छन् ।

कार्यक्रममा दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले उद्योगहरुको नियमन गर्ने अधिकार प्रदेश सरकार मातहत लगिएपछि उद्योगी र स्थानीयबीच औद्योगिक प्रदुषणको नाममा द्वन्द्व उत्पन्न हुने गरेको बताए ।

Source: https://shorturl.at/mV8o6

Source: https://sanghunews.com/content/700347/

Source: https://takuranews.com/news-2/63548/

Source: https://jajnews.com/?p=18899

Source: https://udghoshdaily.com/news/918423-260428075438/detail