नागरिक समाज र सञ्चार जगतको भूमिकाबारे छलफल

हेटौंडाः कोरोना भाईरस (कोभिड–१९) ले पारेको प्रभावमा नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल सोमबार हेटौंडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालयले पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । ईन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य थियो । कार्यक्रममा जिसस प्रमुख खुलालले कोरोना विरुद्ध जनचेतना जगाउने अभियानमा लाग्न नागरिक समाजलाई सुझाव दिनुभएको छ । उहाँले कोरोना भाइरसबाट बच्न जनचेतनाको कमी रहेको भन्दै यसमा नागरिक समाज समेत चुकेको बताउनुभयो । उहाँले नागरिक समाज, राजनीतिक दल लगायत सबैको सक्रियतामा जनचेतनाको माध्यमबाट मात्रै समुदायलाई कोरोनाबाट बचाउन सकिने बताउनुभयो ।

प्रमुख खुलालले नागरिक समाजले महामारीका बेला आफ्नो भूमिका देखाउन नसकेको गुनासाहरु आएको हुँदा त्यसलाई सुधार गर्दै जानुपर्ने समेत बताउनुभयो । उहाँले राज्य संरचनामा आएको परिवर्तनका कारण केही समस्या देखिएको भए पनि त्यसलाई समाधान गर्दै जानुपर्ने बताउनुभयो । उहाँले सबैको सक्रियतामा मात्र समुदाय सचेत र सुरक्षित हुने भन्दै यसमा सबैको भूमिका हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले नागरिक समाज लगायत गैरसरकारी संघ, संस्थालाई स्थानीय तहहरुमा केहि समस्या भएमा जिससले समन्वय र सहजीकरण गर्ने बताउनुभयो । उहाँले कसैलाई दोष दिएर उम्कन नहुने समेत बताउनुभयो । कार्यक्रममा सहभागीहरुले नागरिक समाजको काम भनेको सरकारी तथा निजी क्षेत्रले दिने सेवा र सुविधाबारे निगरानी गर्ने, प्रश्न गर्ने, पैरवी गर्ने र उनीहरूलाई बढी उत्तरदायी र जवाफदेही बनाउने भए पनि अहिले त्यस्तो हुन नसकेको बताएका थिए । सहभागीहरुले नागरिक समाजले आफ्नो भूमिका स्थापित गर्नुपर्ने बताएका छन् । कोरोनाको महामारीमा नागरिक समाजको भूमिका गौण रहेको भन्दै सहभागीहरुले भूमिका प्रस्तुत गर्न सुभाव समेत दिएका छन् । नागरिक समाजले कोरोनाविरुद्ध जनचेतना जगाउने तथा सङ्क्रमण रोक्ने अभियानमा सक्रिय बन्न नसकेको आरोप पनि सहभागीले लगाएका थिए । केही संघ–संस्थाले मास्क, साबुन, सेनिटाइजर बाँडेर आफ्नो उपस्थिति देखाए पनि समग्र रूपमा आफ्नो भूमिकाबाट नागरिक समाज चुकेको उनीहरुको भनाइ थियो ।

Source: https://samriddhasamaj.com/archives/10995?fbclid=IwAR2–yjsoAgDvHyp0UT9cU8bBG61HRZAaFwb0k0ZVHK0PseTK6nUdIDVFVw