न्यायाधिशका अगाडी भक्कानिए पिडित

एम सञ्चार डटकम । २०८३ साउन ३ गते

महोत्तरी । विभिन्न प्रकृतिका हिंसामा परेका पिडितहरु न्यायाधिशका अगाडी भक्कानिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र आफन्त नेपालको आयोजना र न्यायाधिश समाजको सहकार्यमा जनकपुरमा भएको एकदिने ‘पिडितको न्यायमा पहुच विषयक अन्तरकृया कार्यक्रम’मा पिडितहरुले आफुसंग भएको घटना वारे बेलिविस्तार बताउदै भक्कानिए । कार्यक्रममा कोहि बोक्सी आरोपमा,कोहि यौन हिंसामा र कोहि अन्य प्रकारका हिंसा तथा घटनाका प्रभावित थिए ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश टेक नारायण कुँवरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पिडितहरुले मन खोलेरै आफ्नो पिडा सुनाउन भ्याए । विभिन्न समयमा महोत्तरी तथा धनुषामा भएका विभिन्न प्रकारका महिला तथा मानव अधिकार विरुद्धका घटनाहरु बोक्सी आरोपमा अभक्ष खुवाइएका,अर्धनग्न÷नग्न यौन दुव्र्यवहार,दुष्कर्म गरिएका,कुटपिट गरिएका,कालोमोसो दलिएका,कपाल खौरिएर कुटपिट गरिएका साथै जवरजस्ती करणी र अन्य विभिन्न प्रकारका महिला हिंसा तथा मानव अधिकार विरुद्धको घटनाका पिडितहरुले आफ्नो वृतान्त सुनाउदै न्यायिक प्रकृयामा उनले भोगेका अनुभव वारे गुनासो पोखेका थिए ।

कार्यक्रममा उपस्थित पिडितहरुले घटनापछि प्रहरी कार्यालय पुग्दा प्रहरीले गरेका सकारात्मक र नकारात्मक रेस्पोन्स वारे समेत बोले । केहि घटनामा प्रहरीको सकारात्मक सकृयता देखिएको र घटना लगतै कानुनी उपचारको लागि सहयोग गरेको प्रतिकृया पिडितले दिए भने केहि घटनामा मुद्दा दर्ता गराउन समेत लामो संघर्ष गर्नु परेको कथा सुनाए ।

यता सरकारी वकिल कार्यालय देखि अदालतमै समेत केहिले सहजता र केहिले निक्कै सास्ती पाउनु परेको पिडा पोखे । पिडितहरुले न्यायकै लागि अदालतमा लामो समय चक्कर लगाउनु परेको बताएका थिए । यता जवरजस्ती करणी लगायतका केहि मुद्दामा फैसला भैसक्दा पनि अदालतबाट पिडितलाई जानकारी नआउने गुनासो पोखे ।

पिडितहरुको गुनासो सुन्न भ्याएका प्रमुख अतिथि मुख्य न्यायाधिश कुँवरले अझै पिडित मैत्री वातावरण पुर्ण रुपमा निर्माण गर्न नसकिएको बताए । उनले कोहि पिडित प्रहरीमा पुग्दा देखि अदालतमा अन्तिम फैसला हुदासम्मको विचमा पर्ने विभिन्न खुडकिलो अझै सुधार गर्नु आवश्यक रहेको उनले थपे ।

उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्नु लोकतान्त्रिक न्याय प्रणालीको मूल आधार भएको बताउदै न्यायमा पहुँच सुनिश्चित गर्न पीडितमैत्री न्याय प्रणाली आवश्यक रहेको बताए ।

सरोकारवाला सवै निकाय आफ्नो जिम्मेवारी प्रति थप सजग भई हिंसा प्रभावित सहितका सवै प्रकारका मुद्दामा पिडितको अधिकार संरक्षण तथा न्यायमा सहज पहुँचको सुनिश्चितता गर्नू आवश्यक रहेको थपे ।

पीडितमैत्री न्याय प्रणालीको विकास, निष्पक्ष अनुसन्धान, प्रभावकारी अभियोजन तथा छिटोछरितो न्याय सम्पादनमार्फत मात्र पीडितले वास्तविक न्यायको अनुभूति गर्न सक्ने उनको कथन थियो । अपराध पीडितको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको कानुनी व्यवस्था, न्याय प्रणालीमा भइरहेका सुधारका प्रयास, न्याय सम्पादनको प्रक्रिया तथा पीडितको न्यायमा पहुँचसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डबारे मुख्य न्यायाधिश कुँवरले प्रस्तुतीकरण समेत गरेका थिए ।

सोहि अन्तरकृया कार्यक्रममा उपस्थित जिल्ला अदालत धनुषाकी न्यायाधीश दुर्गा खड्काले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न न्यायिक प्रक्रियामा पारदर्शिता, समन्वय र प्रमाणको विश्वसनीयताले महत्वपूर्ण भूमिका खेल्ने बताइन । अदालतले सुनुवाइका क्रममा प्रस्तुत भएका सबै प्रमाण र कानुनी आधारको निष्पक्ष मूल्याङ्कनपछि मात्र फैसला गर्ने भएकोले तथ्यपरक प्रमाणमा आधारित र पीडितमैत्री न्याय सम्पादनबाट मात्र न्यायप्रतिको जनविश्वास बलियो हुने धारणा व्यक्त गरिन ।

सोहि कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंहले पिडितको लागि कानुनी सहायताको व्यवस्थापन गरिएको वताउदै आफुहरुले कानुनी सहायता उपलब्ध गराउने सवै निकायलाई एक्कै ठाउमा राख्ने र सोहि ठाउबाट पिडितलाई सेवा दिने गरि व्यवस्था गर्न आफुहरु प्रयासरत रहेको बताए ।

कार्यक्रममा महोत्तरी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सहित न्यायको क्षेत्रमा कामगर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको तर्फबाट मनतव्य राखिएको थियो ।

कार्यक्रमको अध्यक्षता इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवानले गरेका थिए । सोहि कार्यक्रममा इन्सेक र आफन्त नेपालले गत आर्थिक वर्षमा गरेको कामहरुको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

Source: https://shorturl.at/IWuUi