पीडितहरूको न्यायमा पहुँचकाे चुनौती
पश्चिम टुडे डटकम । २०८३ असार १ गते
कैलाली । विभिन्न हिंसा पीडितहरूको न्यायमा पहुँचकाे अझै पनि चुनौती देखिएको छ। पीडितहरू सरल र सहज न्यायको पहुँचमा अझै पुग्न सकेका छैनन् ।
हिजो औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा धनगढीमा आयोजित ‘पीडितहरूको न्यायमा पहुँच विषयक’ अन्तरक्रिया कार्यक्रममा विभिन्न हिंसा पीडित महिलाहरूले न्यायका लागि पहल गर्दागर्दै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।
एक पीडित एकल महिलाले घटना भएको तीन वर्ष बितिसक्दा पनि आफूले न्यायको अनुभूति गर्न नसकेको बताइन् । पीडक जेलबाट धरौटीमा छुटेर तीन वर्षदेखि आफूलाई विभिन्न खालका धम्की र मानसिक दबाब दिँदै आएको उनको गुनासो छ।
यस्तै अदालतमा ‘बच्चा भेट्न पाउँ’ भनी मुद्दा दर्ता गरेको छ महिना बितिसक्दा पनि बच्चा भेट्न नपाएको अर्की एक महिलाले गुनासो गरिन् ।”श्रीमानले विदेश गएर मलाई छोडिदियो” उनले भनिन्, “श्रीमानले डिभोर्स मागेका छन् । मलाई बच्चा भेट्न नदिएको छ सात महिना भयो ।उसलाई भेट्छु भन्दा तलाई मार्दिन्छु भनेर धम्की दिन्छन्”
साथै दोषीलाई १५ दिनमै छाड्ने गरेको र सरकारी वकिलहरूले पनि वास्ता नगरेको पीडितहरूको गुनासो छ ।
सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम नगर्नु, सम्बन्धित निकायहरूको लापरवाही र पीडितहरूमा जनचेतनाको अभाव हुनु न्यायमा पहुँच नपुग्नुको मुख्य कारण भएको सरोकारवाला बताउँछन्।
न्यायसँग सम्बन्धित निकायहरूले सक्रियतापूर्वक काम गर्नुपर्ने र पीडितहरूलाई विभिन्न सरकारी कानुनी सेवाहरूका बारेमा जानकारी गराउनुपर्ने बार एसोसिएसन कैलालीका अध्यक्ष नाथुराम महतोले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले प्रहरीले कुनै पनि घटनाको अवस्था हेरेर, पीडित मैत्री वातावरणमा प्रमाण जुटाएर काम गरिरहेको बताए । उनले भने, प्रहरीले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्छ। कुनै पनि घटना लुकाएर नराखी ढुक्क भएर समयमै प्रहरीलाई खबर गरौं। ”
मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख प्रकाश भट्टले पीडितको न्याय सुनिश्चित गर्न नागरिक समाज, प्रहरी, प्रशासन र सम्बद्ध सङ्घसंस्थाहरूबीच आपसी समन्वय र सचेतना आवश्यक रहेको औँल्याए।
कार्यक्रममा हिंसा पीडित व्यक्ति तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Source: https://paschimtoday.com/news-details/97342/2026-06-12
HUMAN RIGHTS NEWS PORTAL






