प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाट यादव सम्मानित

काठमाडौँ । २०८२ साउन १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ सिम्रौनगढ नगरपालिका–२, बाराका चुरे तथा वन–जङ्गल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।

साउन १६ गते इन्सेकले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा मानव अधिकार शताब्दी पुरुष डा। गौरीशंकरलाल दासले सो पुरस्कार प्रदान गर्नु भएको हो ।

यादवलाई मानव अधिकार शताब्दी पुरुष डा। गौरीशंकरलाल दासले सम्मानपत्र, ताम्रपत्र र नगद ५० हजार रूपियाँसहित इन्सेकको प्रतीक चिन्ह प्रदान गरी पुरस्कृत गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा। दासले अत्याधिक तराई दोहनका कारण परेको वातावरणीय असरका कारण तराईलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु परेको उल्लेख गर्दै वैदेशिक रोजगारीका लागि ५० लाखभन्दा बढी नेपाली विदेसमा रहेकोले उनीहरुको मताधिकारको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

पुरस्कारबाट सम्मानित व्यक्तित्व सुनिलकुमार यादवले अहिले मधेशले झेल्दै आएको जलवायुको असर र पानीको समस्या हुन सक्छ भन्ने परिकल्पनाका साथ २०७४ सालमा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ भनेर चुरे संरक्षण अभियान सञ्चालन गरिएको स्मरण गर्नुभयो । उहाँले वातावरण संरक्षणका लागि मधेश प्रदेशका हजारौं व्यक्तिहरुले सहास देखाएर अघि बढ्दा परिवारदेखि समुदायको सहयोगबाट नै आज आफूलाई पुरस्कृत हुने अवसर मिलेको उल्लेख गर्दै पुरस्कृत गरेकोमा इन्सेकप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । यादवले ५ हजार १ सय रुपियाँ मुल्य बराबरको कागतीको बिरुवा वितरण गरेर वातावरण संरक्षण अभियान अघि बढाउन लागेको घोषणा गर्नुभयो ।