प्रविधिको सदुपयोग तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

एम सञ्चार डटकम । २०८३ असार २ गते

जनकपुरधाम । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानअन्तर्गत प्रविधिको सदुपयोग सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सोमबार जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

आफन्त नेपालको आयोजना तथा वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त समन्वयमा आयोजित उक्त कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ७२ जना विद्यार्थीहरूलाई प्रविधिको सदुपयोग तथा साइबर अपराध सम्बन्धी जानकारी दिइएको हो ।

विद्यालयका प्रधानाध्यापक संजय कुमार झाको अध्यक्षतामा भएको सो सचेतना कार्यक्रममा वडा नं. ८ की वडा सदस्य मुन्नी दासले प्रमुख आतिथ्यता ग्रहण गरेकी थिइन् ।

यता कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्की तथा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको उपस्थिति थियो ।

कार्यक्रममा आफन्त नेपाल, शाखा कार्यालय धनुषाकी जिल्ला संयोजक अमृता घिमिरेले “प्रविधि तथा मानव बेचबिखन” विषयमा सहजीकरण गरेकी हुन् । उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा, अनलाइनमा अपनाउनुपर्ने सावधानी, साइबर अपराधका जोखिम तथा मानव बेचबिखनका नयाँ प्रवृत्तिबारे विद्यार्थीहरूलाई जानकारी गराइन् ।

सहजीकरणका क्रममा नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था, कानुनी व्यवस्था, प्रविधिको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिम तथा त्यसबाट बच्ने उपायबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

यस्तै, साइबर अपराधको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी गराएका थिए ।

यसै क्रममा आफन्त नेपालको जनकपुर शाखाले सन् २०२६ को जनवरीदेखि मे महिनासम्मको अवधिमा हासिल गरेका उपलब्धिहरू समेत सार्वजनिक गरेको थियो । उनले ४,९९२ जनासम्म सूचना तथा सचेतना सन्देश पु¥याइएको, ९८० जनालाई परामर्श सेवा प्रदान गरिएको, ७० जनाको उद्धार तथा बचावट गरिएको, ६५ जनाको पारिवारिक पुनर्मिलन गराइएको तथा ७० वटा घटनाको प्रहरीसँगको सहकार्यमा व्यवस्थापन गरिएको तथ्यांक प्रस्तुत गरेका थिए । यसका अतिरिक्त २ जनालाई कानुनी सहायता प्रदान गरिएको, ३ जनालाई सुरक्षित आवास गृहमा प्रेषण गरिएको तथा पुनर्मिलन र पुनस्र्थापना गरिएका ३८ जना किशोरीहरूको फलोअप गरिएको जानकारी दिइएको हो ।

कार्यक्रमका सहभागी विद्यार्थीहरूले प्रविधिको सुरक्षित प्रयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

Source: https://shorturl.at/QUEGT