प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसा

सुर्खेत । प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ । सामाजिक संजाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेषगरी महिला तथा किशोरीहरु हिंसाको शिकार हुने गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत इन्सेक, दलित महिला संघ, सोसेक र जुरी नेपालले विहीवार बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा आयोजना गरेको कानुनी सचेतना तथा सिफारिस प्रणालीको आवश्यकता विषयक छलफलमा प्रविधिलाई सदुपयोग गर्न सके फाइदा लिन सकिने तर सही प्रयोग गर्न नसके हिंसाको शिकार भइने जानकारी गराइएको छ ।

बीरेन्द्रनगर नगरपालिकका नगर उपप्रमुख निलकण्ठ खनालले प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसा र विभेदको शिकारका घटनाहरु बढेको बताउनुभयो । उहाँले हिंसा र विभेद कानुनीरुपमा दण्डनीय भएकोले गाउँ समाजमा त्यस्ता काम नगर्न सुझाव दिनुभयो । साथै सामाजिक संजालको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले प्रविधिको दुरुपयोगले महिला र किशोरीहरु बढी पीडित भएको पाइएको बताउनुभयो । उहाँले सोच विचार गरेर प्रविधि चलाउनुपर्नेमा जोड दिँदै महिलाले गर्भदेखि नै हिंसा भोग्नुपरेको उल्लेख गर्नुभयो । समाजमा महिला तथा किशोरीमाथि घरेलु हिंसा, जातीय विभेद, मानव बेचबिखन जस्ता घटनाहरु भइरहेकोले सर्तक रहन समेत उहाँले आग्रह गर्नुभयो ।

बीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष दिनेश खत्रीले परम्परागत सोचले लैंगिक हिंसा बढ्नै गएको बताउनुभयो । उहाँले रुढीवादी सोचहरु हटाउन सके हिंसामा पनि कमी आउने जानकारी दिनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी सचेतना दिदैं महिला तथा किशोरीहरुमा भएका अपराधिक घटनामा कानुन अनुसार हुने सजायवारे अवगत गराउनुभयो । साथै पीडितहरुलाई न्याय प्राप्तिका लागि नेपाल प्रहरी, प्रशासन, अदालत, स्थानीय तहको न्यायिक समिति, वडा कार्यालय, सामाजिक संघसंस्थासमक्ष जानुपर्ने सुझाव उहाँले दिनुभयो ।

यस्तै सोसेकका माया अधिकारीले साइबर अपराधवारे जानकारी दिदैं त्यसबाट बच्ने उपायहरुवारे प्रकाश पार्नुभयोभने दलित महिला संघका कार्यक्रम संयोजक मीना विश्वकर्माले मानवअधिकार सहायता कक्षबाट प्रदान गरिने सेवाहरुबारे जानकारी दिनुभयो । साथै विभिन्न नौ वटा सामाजिक संस्थाहरुको सहभागितामा जिल्लामा सिफारिस संयन्त्र गठन गरिएको र त्यसबाटै पीडितलाई न्याय प्राप्तिमा सहजीकरणका लागि न्यूनतम आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो ।

सिफारिस संयन्त्रबाट चालु आर्थिक बर्षमा करिव १७ जनाले सहयोग पाएका छन् । इन्सेकबाट सात जना पीडितले र दलित महिला संघबाट १२ जनाले सेवा पाएको दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले जानकारी दिनुभयो ।

Source: https://shorturl.at/1Gedq