फागुन २१ को निर्वाचन पर्यवेक्षणका लागि २७ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थालाई अनुमति (सूचीसहित)
नेपाल प्रेस डटकम । २०८२ मङ्सिर २९ गते
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न २७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।
आयोगको कात्तिक ११ गतेको निर्णयअनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेका संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिएको हो ।
निर्वाचन पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट १५ दिनको समयसीमा तोकी निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार तीमध्ये निर्देशिकामा तोकिएका मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र अनुमति दिइएको हो ।
निर्देशिकाअनुसार आवश्यक कागजात पूरा गरी पेश नगरेका संस्थालाई भने पाँच दिनभित्र थप कागजात पेश गर्न पत्राचार गरिएको छ । मागबमोजिमका कागजात प्राप्त भएपछि थप निर्णय गरिने आयोगले जनाएको छ ।
पर्यवेक्षणका लागि अनुमति पाउने राष्ट्रिय संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, इन्सेक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), सुशासन महासंघ नेपाल, सञ्चारिका समूह नेपाललगायत छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा द कार्टर सेन्टर (अटलान्टा) संयुक्त राज्य अमेरिका, एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एनफ्रेल), द मल्टिडिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङ (म्यासाचुसेट्स) तथा इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






