भविष्यको खोजीमा विगतको अपमान

मिशन टुडे न्यूज डटकम । २०८२ असोज ९ गते

नेपालको इतिहासमा विभिन्न कालखण्डमा व्यवस्था र अवस्था परिवर्तनका लागि बिलदानीपूर्ण संघर्ष भएका छन् । आन्दोलनका स्वरूपलाई हेर्ने हो भने केही आन्दोलनबाहेक अधिकांश आन्दोलनहरू हिंसात्मक नै रहेका छन् । तर जेसुकै भए पनि प्रत्येक आन्दोलनका आफ्ना पृष्ठभूमि हुन्छन् । जनताको राजनीतिक, सामाजिक वा आर्थिक अधिकार सुनिश्चित गर्न नागरिकहरू स्वतःस्फूर्त रूपमा उठ्छन् । त्यस्तै भ्रष्टाचार, सामाजिक विभेद, कमजोर शासनप्रणाली वा नेतृत्वको अकर्मण्यताविरुद्धको आक्रोशले नै अकल्पनीय घटनाहरू निम्त्याउने गरेको छ ।

भोला महत

भ्रष्टाचार, अव्यवस्था, बेथिति र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध एकत्रित भएका युवाद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शन र त्यसयताका घटनामा ७५ जनाले ज्यान गुमाएका छन् । भदौ २३ गतेको आन्दोलनका क्रममा राज्यले गरेको बर्बर दमनका कारण आक्रोशित भएको युवापुस्ता कफ्र्युको बेवास्ता गर्दै सडकमा आयो । सयौँ घाइते प्रदर्शनकारीहरू अहिले पनि विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनामा मारिएका परिवार तथा आफन्तजनहरू गहिरो शोकमा डुबेका छन् । यो अकल्पनीय घटनाले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने संकेत देखिएका छन् ।

आम नेपालीले यो घटनालाई इतिहासमा कहिल्यै भुल्न नसकिने नरसंहारका रूपमा लिएका छन् । यी घटनाहरू क्षम्य हुने खालका घटनाहरू होइनन् । देशले व्यहोरेको मानवीय र भौतिक क्षतिको परिपूर्ति गर्न वर्षौँ लाग्नेछ । देशले मानवीय, भौतिक र पुरातात्विक सम्पत्तिमात्र गुमाएको होइन, आत्मासमेत गुमाएको छ । ती आत्माहरूको के दोष थियो होला ? के बिगारेका थिए होलान ? निर्जीवरूपमा ठडिएका, इतिहास बोकेका ती आत्माहरूले समाजलाई के त्यस्तो बिगार गरेका थिए र आज जेनजीका नाममा अराजक भीडको निशाना बन्न पुगे ?

नेपालको इतिहासमा विभिन्न कालखण्डमा व्यवस्था र अवस्था परिवर्तनका लागि बिलदानीपूर्ण संघर्ष भएका छन् । आन्दोलनका स्वरूपलाई हेर्ने हो भने केही आन्दोलनबाहेक अधिकांश आन्दोलनहरू हिंसात्मक नै रहेका छन् । तर जेसुकै भए पनि प्रत्येक आन्दोलनका आफ्ना पृष्ठभूमि हुन्छन् । जनताको राजनीतिक, सामाजिक वा आर्थिक अधिकार सुनिश्चित गर्न नागरिकहरू स्वतःस्फूर्त रूपमा उठ्छन् । त्यस्तै भ्रष्टाचार, सामाजिक विभेद, कमजोर शासनप्रणाली वा नेतृत्वको अकर्मण्यताविरुद्धको आक्रोशले नै अकल्पनीय घटनाहरू निम्त्याउने गरेको छ ।

आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते भएका वा राजनीतिक योगदान गरेका व्यक्तिहरूको सम्झनामा स्मारक, संग्राहलय, शालिक निर्माण, राजमार्ग, ठूला भवनहरू तथा टोल समाजको नामाकरण गर्ने प्रचलन संसारभर नै हुने गरेको छ । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिकका केही चोकहरूको नामाकरण ख्यातीप्राप्त व्यक्तिहरूको नाममा गरिएको छ । र त्यहाँ शालिक स्थापना गरिएका छन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका नेपालगन्जका शालिकहरू

वीपी चोक

नेपाली काँग्रेसका संस्थापक ८ सेप्टेम्बर १९१४ मा बनारसमा जन्मिएका वीपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुन् । नेपाली काँग्रेसको संस्थापक कोइरालाको नेपाली राजनीतिका साथै साहित्यमा ठूलो योगदान रहेको छ । उनको योगदानको मूल्याङ्कन गर्दै नेपालगन्जमा उनको शालिक स्थापना गरिएको छ । र सो वरपरको ठाउँलाई वीपी चोकका नामले चिनिन्छ । उनको शालिक यसपटक आन्दोलनको निशानामा प¥यो ।

पुष्पलाल चोक

पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनी हिंसात्मक क्रान्तिभन्दा लोकतान्त्रिक प्रक्रिया, सामाजिक न्याय, वर्ग संघर्ष र जनताको सहभागितालाई बढी महत्व दिन्थे । नेपाली समाजमा जात–धर्म, लिङ्ग, क्षेत्र आदि विभाजनभन्दा माथि उठी सबैका लागि समान अधिकार र समावेशी समाज निर्माण गर्ने उनको लक्ष्य थियो । उनले उत्पीडित, श्रमिक, किसान, महिला आदिको पक्षमा आवाज उठाएर समावेशी समाज निर्माणको मार्ग प्रशस्त गरेका थिए । उनको सम्झनामा नेपालगन्ज उपमहानगरपालिकामा स्थापना गरिएको शालिक पनि आन्दोलनकारीको निशानामा प¥यो ।

गणेशमान चोक

गणेशमान सिंहले आधुनिक राजनीतिक दल प्रजा परिषद्मा आबद्ध भई राणा शासनविरुद्धको पहिलो आन्दोलन प्रारम्भ गरेका थिए । उनले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । गणेशमान सिंहको योगदान नेपाली राजनीतिमा धेरै छ । उनलाई ‘लोकतन्त्रका सेनानी’, ‘जनआन्दोलनका सर्वोच्च नेता’ र ‘नेपालको लौहपुरुष’को उपाधिले सम्मान गरिन्छ । उनको शालिक पनि तोडफोड भयो ।

सेतु विक चोक

सेतु विक २०६२–६३ को जनआन्दोलनका क्रममा नेपालगन्जमा सहादत प्राप्त गर्ने साहसी महिला थिइन् । उनले जनआन्दोलनमा अग्रभागमा रहेर आम नागरिकका हकहितका लागि लडिन् । उनको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले स्थापना गरिएको शालिक आन्दोलनका क्रममा ढालियो । उनले त्सयबेला उठाएका प्रश्नहरू आजको जेनजी पुस्ताले उठाएका मागभन्दा कम महत्वका थिएनन् । त्यो समयमा त झन् अवस्था मात्र होइन, व्यवस्थै परिवर्तनका लागि गरिएको आन्दोलन थियो ।

०८२ भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा हामीले निर्दोष युवाहरू गुमायौँ । हजारभन्दा बढी घाइते भए । अर्बाैँ मूल्यका भौतिक संरचनाहरू ध्वस्त भए । व्यक्तिका घरहरू छानीछानी ध्वस्त पारिए । यसबारेमा हामीले विभिन्न कोणबाट विश्लेषण गर्न सक्छौँ र गर्नेछौँ। तर आन्दोलनसँगै हामी हाम्रो चेत गुमाइरहेका त छैनौँ ? मानिसले मानिसप्रति गर्ने व्यवहार, आचरण र भाइचारा सम्बन्ध गुमाइरहेका त छैनौँ ?

समाज रुपान्तरणका नाममा अराजकता र अशान्तिलाई बढावा दिइरहेका त छैनौँ ? यदि होइन भने भ्रष्टाचार, अव्यवस्था र बेथितिविरुद्ध पवित्र उद्देश्य राखेर गरिएको जेनजी पुस्ताका भाइबहिनीहरूको आन्दोलनमा कसको प्रवेशले यो वितण्डा ल्यायो ? यसबारेमा राज्य र सरोकारवाला गम्भीर हुनु पर्दैन र ? व्यवस्था परिवर्तन गर्न सक्नेहरूले अवस्था किन परिवर्तन गर्न सकेनन् ? यसको मूल कारण के के हुन् ? कमजोरीहरू कहाँ रहे ? सच्चिनका लागि हिंसात्मक आन्दोलन नै रोज्नुपर्ने हो ?

सबै पुस्ताले गम्भीर भएर सोच्ने बेला आएको छ । जसले जीवनभर नागरिकका प्राकृतिक अधिकारका लागि बोल्ने, लेख्ने, सभासम्मेलन गर्ने, रोजेको पेशाव्यवसाय गर्ने, राजनीतिमा भाग लिने, भ्रष्टाचार, कुसंस्कार र बेथितिको विरोधमा उठ्ने अधिकारका लागि लडे—सहिदहरूले के बिराए ? जेएनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिले हामी सबैलाई जिन्दगीभर पीडित बनाइरहनेछ । मानवीय क्षतिप्रतिको संवेदना, सहानुभूति र ज्यान गुमाउनुको पीडाबारे बढी चर्चा हुनु स्वाभाविक हो ।

तर त्यसबाहेक भएका भौतिक संरचना, घाइते, व्यक्तिका सम्पत्तिमाथिको तोडफोड र आगजनीबारे जति चर्चा भए पनि, राजनीतिकरूपमा संसारकै उच्चतम प्रणालीको उपभोग गर्नसक्ने तहसम्म पु¥याउने ती हाम्रा सहिदहरूको शालिक ढल्दा सम्मान र सहानुभूति पर्याप्त देखिएन ।हामी नयाँ इतिहास बनाउने नाममा पुरानो इतिहासलाई भुल्दैछौँ । सहिदहरूको सम्मान गरौँ र उनीहरूको सपनालाई कहिल्यै नबिर्सौँ ।
(लेखक इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक हुन् ।)

Source: https://missiontodaynews.com/2025/09/100566