मधेशमा जलवायु संकट : आदिवासी र अपाङ्ग समुदाय बढी प्रभावित
धनुषा । २०८२ पुस ७ गते
जनकपुरधाम । मधेश प्रदेशमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी दलित, आदिवासी–जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूमाथि परेको दाबी गरिएको छ ।
जनकपुरधाममा सोमबार मधेशी आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्ग समाज जनकपुरको आयोजना तथा इन्सेक र कायापलटको सहकार्यमा कार्यक्रम आयोजनामा ‘मधेश प्रदेशमा जलवायु परिवर्तनको असर आदिवासी र अपाङ्गता भएका व्यक्तिहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले बढ्दो तापक्रम, अनियमित वर्षा, बाढी, डुबान र खडेरीजस्ता समस्याले जनजीवन प्रभावित बनाउँदै जाँदा यसको सबैभन्दा ठूलो मार सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि परेको बताएका हुन् ।
अन्तरक्रियामा प्रस्तुत प्रतिवेदनअनुसार नेपालमा कुल जनसंख्याको २।२ प्रतिशत अर्थात् करिब साढे छ लाख व्यक्ति कुनै न कुनै प्रकारको अपाङ्गतासँग बाँचिरहेका छन् । अपाङ्गता समावेशीकरणसम्बन्धी विज्ञ कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिप्रति अझै पनि सामाजिक, सांस्कृतिक तथा मूल्य–मान्यताविपरीत व्यवहार हुने गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विश्वभर करिब आठ अर्ब अपाङ्गता भएका व्यक्ति विभिन्न रूपमा राज्य, समाज र जलवायु परिवर्तनको असरबाट उत्पीडित छन् । राज्यले हालसम्म उनीहरूलाई लक्षित स्पष्ट नीति तथा कार्यक्रम नल्याएको आरोप पनि उहाँले लगाउनुभयो ।
प्रतिवेदनमा मधेश प्रदेशको ठूलो जनसंख्या कृषि र प्राकृतिक स्रोतमा निर्भर रहेपनि पछिल्ला वर्षहरूमा मौसमको ढाँचा असन्तुलित बन्दा बाली उत्पादन घट्नु, पानीका स्रोत सुक्नु र जीविकोपार्जन संकटमा पर्न थालेको उल्लेख गरिएको छ । यसले परम्परागत रूपमा खेतीपाती र प्राकृतिक स्रोतमा आधारित जीवनयापन गर्दै आएका आदिवासी समुदायलाई प्रत्यक्ष असर पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।
जलवायुजन्य विपद्का बेला अपाङ्गता भएका व्यक्तिहरू दोहोरो जोखिममा पर्ने गरेको पनि औंल्याइएको छ । बाढी, डुबान वा अत्यधिक गर्मीका समयमा सुरक्षित स्थानमा पुग्न कठिनाइ, चेतावनी सूचना पहुँचयोग्य नहुनु तथा आपतकालीन पूर्वाधार अपाङ्गमैत्री नहुनुले उनीहरूलाई थप असुरक्षित बनाएको प्रतिवेदनको निष्कर्ष छ । अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयकी सामाजिक शाखा प्रमुख निर्मला मिश्रले राजनीतिक अस्थिरताका कारण कामकाज प्रभावित हुने गरेको बताउँदै आफूले सक्दो विषय मन्त्रालयमा उठाई नीति तथा कार्यक्रम निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै मन्त्रालयका खेलकुद तथा युवा शाखा प्रमुख पर्शुराम कार्कीले वनजंगल र नदी–नालाको छेउछाउमा बसोबास गर्ने समुदायका लागि जलवायु परिवर्तनसम्बन्धी पूर्वसूचना र व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
मिडिया काउन्सिलका पूर्वअध्यक्ष कैलास दासले मधेश प्रदेशमा अपाङ्गता भएका व्यक्ति र आदिवासी–जनजातिको यथार्थ तथ्यांक नहुनु दुःखद विषय भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई मध्यनजर गर्दै यी समुदायका लागि छुट्टै नीति, कार्यक्रम र बजेट सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासमानले जलवायु परिवर्तनको असर अपाङ्गता भएका व्यक्ति र आदिवासी समुदायमाथि प्रत्यक्ष रूपमा परिरहेको उल्लेख गर्दै यसबाट बच्न र बचाउन संघ, प्रदेश र स्थानीय तहका सरकारले साझा जिम्मेवारी लिनुपर्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ धनुषाका अध्यक्ष शत्रुधनलाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी जमुना भुजेल, कोक्यापका अर्जुन साह, कायापल्टका दिवाकर उप्रेति लगायतले आआफ्ना धारणा राखेका थिए ।
Source: https://hosturl.link/WuG8ng
Source: https://hosturl.link/oL4NSI
Source: https://hosturl.link/LrLipW
HUMAN RIGHTS NEWS PORTAL






