मधेशमा मानव अधिकार उल्लङ्घन बढ्दो: १ वर्षमा २ हजार बढी घटना, महिला सबैभन्दा बढी पीडित

नेपाल प्रेस डटकम । २०८२ चैत १८ गते

जनकपुरधाम । मधेश प्रदेशमा मानवअधिकार उल्लघंनको घटना बढ्दो अवस्थामा रहेको देखिएको छ । पछिल्लो तथ्यांकअनुसार विभिन्न प्रकारको मानव अधिकारको हननका घटनामा परी हजारौं व्यक्ति पीडित भएको तथ्यांकले देखाएको छ ।

इन्सेकद्वारा प्रकाशित ‘मानव अधिकार वर्ष पुस्तक २०२६’ अनुसार देशभर मानव अधिकार उल्लङ्घनका घटनामा बागमती प्रदेशपछि मधेश प्रदेश दोस्रोमा रहेको देखाएको छ ।

शिक्षा, जनचेतना र न्यायमा पहुँचको अभावका कारण यस्ता मानवता विरुद्धका घटनाहरू निरन्तर बढ्दो क्रममा रहेको इन्सेक मधेश प्रदेशका संयोजक राजु पासमानले जनाएका छन् ।

संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठनपछि शोषण, दमन र घरेलु हिंसामा कमी आउने अपेक्षा गरिएको थियो । तर, सरकारी तथा गैरसरकारी संस्थाहरूको तथ्याङ्कले उल्लेख्य सुधार नभएको उनको तर्क ।

मधेश प्रदेश मानव अधिकार अवस्था सम्बन्धी छलफल कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सन् २०२५ मा मधेश प्रदेश २ हजार ९४ वटा घटना भएको छ । जसमा सबैभन्दा बढी महिला अधिकारका घटना भएको छ । यही सालमा १५ सय ८० वटा घटना महिला अधिकारको हनन सम्बन्धी भएको तथ्यांकले बताएको छ ।

त्यस्तै विभिन्न घटनामा परी २ सय ४७ जना घाइते, बालअधिकारको एकसय ५० वटा घटना भएको छ । समाजमा अझै पनि गहिरो जरा गाडेर बसेको जातीय विभेदका कारण १९ जनाले सास्ती भोग्नुपरेको छ भने अमानवीय व्यवहारबाट १५० जना पीडित भएका छन्।

गम्भीर अपराधतर्फ हेर्दा, यस अवधिमा ३० जनाको हत्या भएको छ भने ४ जनाको अपहरण र ३६ जनामाथि कुटपिटका घटनाहरू दर्ता भएका छन्। राज्यपक्षबाट भएका घटनाहरूमा ७ जनाको गिरफ्तारी र ३ जनाको कारागारभित्रै मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। कुल पीडितहरूमध्ये राज्यपक्षबाट ४३ जना र अन्य पक्षहरूबाट ३,७५८ जना पीडित भएका छन्।

यस प्रतिवेदनले मधेश प्रदेशमा मानव अधिकारको संरक्षण र सुरक्षा व्यवस्थामा थप गम्भीरता देखाउनुपर्ने आवश्यकतालाई औंल्याएको छ। विशेषगरी महिला र बालबालिकाको सुरक्षामा राज्य र नागरिक समाज दुवैको भूमिका प्रभावकारी हुनुपर्ने आवश्यकता रहेको यो तथ्याङ्कले दिएको छ।

त्यस्तै, मधेशमा राज्यपक्षबाट ४३ र अन्य पक्षबाट २ हजार ५१ घटना भएका छन् । प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी उल्लङ्घन धनुषा जिल्लामा भएको छ, धनुषामा ८४४ घटनासहित देखिएको छ । अन्य जिल्लामा सप्तरीमा ११८, सिरहामा ११६, महोत्तरीमा ३६६, सर्लाहीमा १३२, रौतहटमा १५९, बारामा १३३ र पर्सामा १८२ घटना अभिलेख गरिएको छ ।

मानव अधिकार उल्लङ्घनअन्तर्गत गिरफ्तारी, अपहरण, कुटपिट, धम्की, हत्या, बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन, साइबर अपराध, बोक्सी आरोप तथा दाइजोसम्बन्धी हिंसा जस्ता घटनाहरू समावेश छन् ।

सन् २०२५ का यी तथ्याङ्कले मधेशमा हिंसा नियन्त्रणका प्रयास अझै प्रभावकारी हुन नसकेको स्पष्ट पार्छ । विज्ञहरूका अनुसार दण्डहीनताको अन्त्य, कानुनी पहुँचको विस्तार र जनचेतना अभिवृद्धि नगरेसम्म यस्ता घटनामा कमी ल्याउन कठिन हुनेछ ।

Source: https://shorturl.at/6BYn1