मानवअधिकार रक्षकका लागि विशेष कानुन बनाउन माग

समाधान डटकम । २०८३ साउन १४ गते

पोखरा । मानव अधिकारकमीहरुले मानव अधिकार रक्षकको संरक्षण र सुरक्षाका लागि छुट्टै कानुन तर्जुमा गर्न माग गरेका छन् । त्यसको लागि उनीहले इन्सेक गण्डकी प्रदेशको प्राविधिक सहयोगमा तयार गरिएको ‘मानवअधिकार रक्षक विधेयक–२०८३’को मस्यौदा गण्डकी प्रदेशसभामा बुझाएका छन् ।

मानवअधिकार रक्षकहरूको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्ने उद्देश्यले प्रस्तावित मस्यौदा गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेललाई हस्तान्तरण गरेको इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिए । उनले उक्त मस्यौदा दर्ता तथा आवश्यक संसदीय प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयमा बुझाएको बताए ।

प्रदेशसभा सचिव पौडेलले मानव अधिकारको संरक्षण र मानव अधिकार रक्षकहरूको सुरक्षा वर्तमान समयमा अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बनेको बताए । उनले विधेयकलाई सम्बन्धित मन्त्रालयमार्फत सरकारी विधेयक वा गैरसरकारी (प्राइभेट) विधेयकका रूपमा संसदीय प्रक्रियामा अघि बढाउन सकिने संवैधानिक व्यवस्था रहेको जानकारी दिए ।

पेशागत र भौतिक रुपमा असुरक्षित मानव अधिकार रक्षकलाई विशेष कानुन बनाएर सुरक्षाको प्रत्याभूति गराउनु राज्यका निकायको दायित्व भएको जानकारी दिए । ‘मानव अधिकार रक्षकको लागि नीति कानुन निर्माणको लागि संघ तथा प्रदेश स्तरमा लबिङ गरेका छौं,’ उनले भने, ‘मानव अधिकारकर्मीहरुले मानव रक्षकको लागि नमुना कानुन बनाएर प्रतिनिधि तथा प्रदेश सरकारलाई बुझाएका छौं ।’ उनले प्रदेश सरकार समक्ष मानव अधिकार रक्षक डेस्क स्थापना गर्नेदेखि रक्षक परिषद् गठन गर्न माग गरे । उनले प्रदेश सरकारले मानव अधिकार रक्षकको सवाललाई बजेट, नीति तथा कार्यक्रममा समेत सम्बोधन गर्न आग्रह गरे ।

सयुक्त राष्ट्र संघले मानव अधिकार रक्षकको अधिकार सम्बन्धी घोषणापत्र १९९८मा जारी गरेको छ । मानव अधिकार आयोगले मानव अधिकार रक्षकको निर्देशिका जारी गरेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय दायित्व पुरा गर्न नेपालले कानुन बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । मानव अधिकार रक्षकहरु सुशासन प्रवद्र्धन, मानव अधिकारमैत्री शासकीय अभ्यास तथा मानव अधिकारमैत्री प्रणालीको स्थापना सक्रियता पूर्वक लागेको दाबी गर्दै उनले विशेष कानुन बनाएर कानुन कार्यान्वयनमा ल्याउन सके सबै मानव अधिकार रक्षकले सुरक्षाको अनुभूति गर्न सक्ने बताए ।

Source: https://shorturl.at/kq7gG