मानव अधिकार रक्षक संजाल बागमती प्रदेशको बैठक सम्पन्न

समाचार विचार डटकम । २०८२ माघ २२ गते

हेटौंडा । मानव अधिकार रक्षक संजाल बागमती प्रदेशको बैठक बिहीबार सम्पन्न भएको छ। संजालका अध्यक्ष दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले विगतका गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा बधाई ज्ञापन प्रस्तावहरूमा छलफल गरेको छ।

बैठकमा विगतको समीक्षा गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समिक्षा गरिएको थियो। सो क्रममा संजालले सबै दिवसहरूमा सक्रिय सहभागिता, समन्वय तथा सहकार्य गर्दै हेटौंडा–९ नम्बर वडामा समुदायस्तरका महिलाहरूको अधिकारसम्बन्धी कार्यक्रममा सह–आयोजकको भूमिका निर्वाह गरेको जानकारी दिइयो।

त्यसैगरी आगामी कार्ययोजनाअन्तर्गत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ लाई निष्पक्ष, स्वच्छ र भयमुक्त रूपमा सम्पन्न गराउन संजालको तर्फबाट अनुगमनसहित विभिन्न अभियानमार्फत सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको अध्यक्ष ढकालले जानकारी दिए।

बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति, कार्यक्रम तथा बजेटलाई मानव अधिकारमैत्री बनाउन औपचारिक तथा अनौपचारिक रूपमा ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

यसैबीच संजालकी सदस्य अधिवक्ता अप्सरा बस्नेत बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएकोमा बैठकले बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

Source: https://samacharbichar.com/news/9026/