मानव अधिकार र युवाका सवालबारे इन्सेककाे बागमतीकाे छलफल सम्पन्न

नेपाल प्रेस डटकम । २०८२ असोज २५ गते

काठमाडौं । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगत तीन दशक भन्दा बढी समयदेखि आफ्ना अभियान र कार्यक्रम मार्फत नागरिकहरुका बीचमा मानव अधिकारका सवालमा बहस तथा पैरवी गर्दै आएको बताए ।

सन् १९८८ पछि भएका आन्दोलनहरूमा इन्सेकले मानव अधिकारको रक्षा गर्न र सरकारलाई जबाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकारको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिएर, लोकतन्त्र र मानव अधिकारको स्थायित्व सुनिश्चित गर्न योगदान पुर्याउँदै आएको उनले उल्लेख गरे ।

जेनजी युवा पुस्ताले उठान गरेका राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरुमा राज्यको संवेदनशीलता र जबाफदेहीता आवश्यक रहेको साथै ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई जेनजी युवा समूहले स्वच्छ, निष्पक्ष र भयरिहत बनाउदै राज्यमा मानव अधिकार सुसंस्कृतीको विकास गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले युवा सहभागिता प्रवर्द्धन गर्नुपर्ने, उदयमान सक्षम युवा पुस्ताको नेतृत्वमा पहुँच स्थापित हुनुपर्ने र नेतृत्व हस्तान्तरण प्रति राजनीतिक दलले गरेको बेवास्ताको अन्त्य गर्दै जेनजी पुस्ताको सहभागिता सुनिश्चितता गरिनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा नेपाल बार ऐशोसियसनका केन्द्रीय सचिवालय सदस्य डा. मुकुन्द अधिकारीले विद्यमान विधि र पद्धतीमै रहेर कानुनी शासन र संविधानको मर्म अनुसार अगाडि बढ्नु पर्ने बताए । भ्रष्टाचार, अन्याय र असमानताको अन्त्यका लागी जेनी युवा पुस्ताको समर्थन गर्ने र आगामी निर्वाचन पश्चात राज्यमा व्याप्त अराजकताको अन्त्य हुनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै, युवा अधिकारकर्मी दिवाकर उप्रेतीले लोकतन्त्रलाई सृदृढ गर्दै, लोकतन्त्रलाई अत्याधिक जनमुखी बनाउन आन्दोलनमा संलग्न विभिन्न समूहका जेनजी पुस्ताहरुको एकता आवश्यक रहेको बताए ।

उनले सुशासनका निम्ति युवाहरुले थप चिन्तन गर्नुपर्ने, विभिन्न विषयमा अनिवार्यता हुनुपर्ने, बहुदलीय व्यवस्थालाई प्राथमिकता दिँदै आगामी निर्वाचनमा मतदातालाई उम्मेदवार अस्वीकार गर्न मिल्ने (राइट टु रिजेक्ट) को विकल्प रहनुपर्ने बताए ।

युवा अभियानका अध्यक्ष पवन गौतमले जेनजी आन्दोलनका क्रममा भएका घुसपैठको निष्पक्ष छानबिन हुनुपर्ने र हरेक राजनीतिक दलभित्र युवाहरु अगाडि आउनुपर्ने बताए ।

त्यस्तै, अभियानता एलिशा ढुङ्गानाले भ्रष्टाचार, दण्डहीनता र सुशासन विरुद्धमा युवा पुस्ताले सडकमा र डिजिटल प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जालमा अभियान चलाए जसरी विभिन्न समूहमा विभाजित जेनजी पुस्ताका आवाजलाई एकीकृत गर्दै सरकार र नागरिक समाजले यसलाई सकारात्मक रुपमा ग्रहण गर्दै युवाको सन्तुष्टि र विश्वासको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

छलफलमा जेनजी आन्दोलनको वार्ता टोलीका सदस्य उपार्जन चाम्लिङले भ्रष्टाचार उन्मुलन, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दका कारण युवा पुस्ताहरुले नयाँ राजनीतिक दल गठन गरी सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणमा अगाडि बढ्ने बताए ।

उनले निर्वाचन आयोगसँग विदेशमा रहेका करिब २८ प्रतिशत मतदातालाई मतदान गर्न मिल्ने व्यवस्था गर्न अनुरोध गरेको समेत बताए ।

जेनजी अगुवा खेमराज साउदले आन्दोलनमा घुसपैठका कारण सुरक्षा खतरा हुने सम्भावनाका कारण काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई समयमै सचेत बनाइएता पनि राज्यका संयन्त्रहरुले आन्दोलनलाई सामान्यकृत गर्दै सुरक्षा व्यवस्थामा गैरजिम्मेवारीपना देखाइएका कारण आन्दोलन अनियन्त्रित हुन पुगी गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरु भएको बताए ।

उनले राज्यबाट पछाडि पारिएका समुदायको मानव अधिकार रक्षार्थ मानव अधिकारकर्मी र संघसंस्थाहरु समुदाय र ग्रामीण तहमा पुग्न आवश्यक रहेको बताए ।

जनेजी अगुवा सफलता तामाङले विद्यालय पोशाकमा विना हातहतियार कापीकिताबसँगै आएका विद्यार्थीहरु माथि गरिएको राज्यको आक्रमक प्रस्तुतीले राज्यको युवा पुस्ता प्रतिको क्रुरता स्पष्ट रहेको बताए । उनले निवार्चनका समयमा हुनसक्ने पूँजीगत चलखेल र अनियमितालाई अन्त्य गर्न हरेक उम्मेदवारको सम्पत्ति छानविन आवश्यक रहेको बताए ।

जेनजी अगुवा अमित खनालले राज्यका सरकारी संरचनाहरु सुनियोजित ढङ्गले आक्रमण गरिएको, समानुपातिक पद्धतीबाट सिमान्तकृत समुदायको सट्टा उच्च वर्गका प्रतीनिधिहरु सरकारमा ल्याएको बताउदै जेनजी मुभमेन्ट अलायन्सले सक्षम र असल प्रतिष्ठा भएका व्यक्तिहरु जनप्रतिनिधि हुनुपर्ने बताए ।

त्यसैगरी, दी रिभोलुसन डिस्कर्ड च्यानलका प्रतिनिधि लुजा महर्जनले राज्यले अत्याधिक बल प्रयोग गरी युवाको मानव अधिकारको उल्लंघन गरेको र मानव अधिकार पूँजीपतिहरुका लागि मात्रै सीमित रहेको बताए ।

छलफल कार्यक्रममा अभिषेक अधिकारी, कपिल अधिकारी, दिनेश कार्की, शेख कम्मुदिन लगायत सहभागीहरुले जेनजी अगुवाहरुसँग शिक्षा, सीप विकास, रोजगार, स्वास्थ्य, सामाजिक न्याय, वातावरणीय संरक्षण र समान अवसर सुनिश्चितता जस्ता मुद्दाहरू प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका थिए ।

छलफल सत्रलाई युवा पत्राकार कौशल काफ्लेले सहजीकरण गरेका थिए ।

इन्सेक बागमती प्रदेश कार्यालयका सहायक प्रलेख अधिकृत बरुण बस्यालले वर्तमान सन्दर्भः मानव अधिकार र युवाका सवाल विषयमा प्रस्तुतीकरण गरेका थिए ।

 Source: https://www.nepalpress.com/2025/10/11/648705/