लालझाडीमा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कैलाली खबर डटकम । २०८३ जेठ २० गते

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । कार्यक्रमको आयोजना लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समूहले गरेको थियो भने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय र वडा नं. ५ कार्यालयको आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँगै बदलिँदो परिस्थितिमा स्वच्छ वातावरण र व्यवसाय पनि मानव अधिकारका महत्त्वपूर्ण पक्ष बनेको बताए । उनले स्वच्छ वातावरण र व्यवसायप्रति नागरिक तथा सरोकारवाला निकायहरू सचेत हुनुपर्नेमा जोड दिए ।

जोशीले मानव अधिकार संरक्षणका लागि स्थानीय तहमा मानव अधिकार समूह गठन गरी सोही समूहमार्फत नागरिकलाई सचेत बनाउने, स्थानीय सरकारलाई खबरदारी गर्ने तथा जबाफदेही बनाउन काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मानबहादुर कार्कीले नेपालको संविधानमा मौलिक हकअन्तर्गत उल्लेखित अधिकारहरूको कार्यान्वयन राज्यको दायित्व भएको उल्लेख गर्दै ती अधिकार कार्यान्वयन नभएको अवस्थामा आयोगले सम्बन्धित निकायलाई सिफारिस गर्दै मानव अधिकार संरक्षण र प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएको बताए ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले मानव अधिकार समूहले नागरिकलाई सचेत बनाउने, स्थानीय सरकारलाई जबाफदेही बनाउन सहयोग गर्ने तथा महिला हिंसा, जातीय विभेदलगायत सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको बताए ।

उनले २०७९ सालमा दर्ता भएको मानव अधिकार समूहले पालिकाको नीति तथा कार्यक्रमअनुसार मानव अधिकार संरक्षण तथा संवर्द्धनका क्षेत्रमा काम गरिरहेको र सोही आधारमा पालिकाले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको जानकारी दिए ।

वडा नं. ५ का अध्यक्ष पहलबहादुर थापाले मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसा, बालविवाह तथा लागूपदार्थ दुर्व्यसनविरुद्ध प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाले वडा कार्यालय र पालिकाले निरन्तर समन्वय तथा सहयोग गर्दै आएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष सोमनाथ रानाले मानव अधिकारका क्षेत्रमा इन्सेकले नागरिक सचेतना अभिवृद्धि र स्थानीय सरकारलाई जबाफदेही बनाउन मार्गदर्शन गरेको उल्लेख गर्दै सहयोग र समन्वयका लागि स्थानीय सरकार तथा इन्सेक प्रति आभार व्यक्त गरे ।

Source:  https://www.kailalikhabar.com/detail/15424

Source: https://pahura.com/2026/06/53586/