लोकतन्त्र स्थायित्वका लागि निर्वाचन र सहभागिता कार्यक्रम

पश्चिम टुडे डटकम । २०८२ माघ २० गते

कैलाली । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मूल उद्देश्यका साथ सुदूरपश्चिममा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र  नेपाल मानव अधिकार सङ्गठनको संयुक्त आयोजनामा धनगढीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नागरिक तहबाट परिवेक्षण भइरहेकोे इन्सेकका सूचना अधिकृत कृष्ण गौतम बताए । कार्यक्रममा निर्वाचन आचारसंहिताबारे जानकारी दिँदै प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले मताधिकार प्रयोग गरी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आग्रह गरे ।

निर्वाचनका लागि प्रदेश भरी १५ हजार जनशक्ति खटाउने तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडाहरूमा स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरूले निर्वाचन आयोगले लागू गरेको आचारसंहिता पालना गर्न आफूहरू प्रतिबद्ध रहेको भट्टको भनाइ छ ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनका लागि अपनाउनुपर्ने शान्ति सुरक्षाको पूर्ण तयारी भइसकेका जनाए । उनले शान्ति सुरक्षा र आचारसंहिताको पालनाका लागि दलहरूले लिखित प्रतिवेदनमा हस्ताक्षर गर्नुपर्ने बताए । ‘निर्वाचन आचारसंहिताको पालनाका विषयमा दलहरूले मौखिक प्रतिबद्धता गरेर मात्र भएन  । यससम्बन्धी लिखत प्रतिवेदन मै सबै दलहरूले हस्ताक्षर गरे निर्वाचन भयरहित र स्वच्छ वातावरणमा हुन्छ,’ उनले भने ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले निर्वाचन सम्पन्न गर्न आचारसंहिता अनिवार्य रहेको र मतदाता शिक्षालाई बढी जोड दिनु पर्ने बताए । 

Source: https://shorturl.at/BpBK3

Source: https://pahura.com/2026/02/51977/

Source: https://agralekh.com/news/5708