शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै गृहमन्त्री अर्याललाई धन्यवाद पत्र

सत्य दर्शन डटकम । २०८२ फागुन २९ गते

काठमाडौं । स्वच्छ निर्वाचनका लागि सञ्चालन गरिएको नागरिक अभियान अन्तर्गत नेपाल मानव अधिकार संगठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई धन्यवाद ज्ञापन गरेका छन्।

Citizen’s Campaign for Clean Election (CCCE) स्वच्छ निर्वाचनका लागि नागरिक अभियान को तर्फबाट गृहमन्त्रालय, सिंहदरबारमा बुझाइएको धन्यवाद ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल सरकार तथा निर्वाचन आयोगले खेलेको भूमिकाप्रति आभार व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै जटिल परिस्थितिका बाबजुद पनि सरकारका तर्फबाट शान्तिपूर्ण, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन गरिएको पहल प्रशंसनीय रहेको जनाइएको छ। साथै निर्वाचन अवधिभर कायम गरिएको सुरक्षा व्यवस्था, प्रशासनिक समन्वय तथा नागरिक सहभागितालाई सुनिश्चित गर्न गरिएको प्रयासले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास बढाउन महत्वपूर्ण योगदान पुगेको पनि उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनका लागि सरकारको सक्रिय नेतृत्व र प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

उक्त धन्यवाद ज्ञापनपत्रमा इन्द्रबहादुर अर्याल (अध्यक्ष, नेपाल मानव अधिकार संगठन) र विजयराज गौतम (अध्यक्ष, इन्सेक) ले हस्ताक्षर गरेका छन्।

Source: https://shorturl.at/6cU1f

Source: https://shorturl.at/0ut3n

Source: https://www.lokaantar.com/story/314341/2026/3/13/current-affairs/election-