शारीरिक दुर्बलता भएकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
नागरिक न्यूज डटकम । २०८० असोज ६ गते
पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको शारीरिक रुपमा दुर्बल भएकाहरुले गुनासो गरेका छन्। संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ। ऋपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा पोखरामा आयोजित ‘सबैका लागि पहुँचयुक्त यातायात’ सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले शारीरिक रुपमा दुर्बलता भएका, दृष्टिविहीन, सुन्ने शक्ती कम भएका लगायतले सार्वजनिक यातायात चढेर यात्रा गर्ने वातावरण नभएको गुनासो गरे। उनीहरुले संविधान र कानुन अनुसार सार्वजनिक यातायात सबैको पहुँच युक्त बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले शारीरिक रुपमा दुर्बल भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्दा हरेक सेकेण्ड चुनौतिको सामना गर्न बाध्य हुने बताए। उनले भने, ‘देशमा संविधान छ, कानुन छ, नियमावली छ तर हामी अपाङ्गता भएकाहरु त्यही संविधान, कानुन र नियमावली कार्यान्वयन नहुँदा सडकमा सुरक्षित हिँड्न र सार्वजनिक यातायातमा सुरक्षित रुपमा यात्रा गर्न नसक्ने अवस्था छ।’ उनले यातायात अहिले पनि व्यक्तिगत स्वतन्त्रता हनन गर्ने खालका भएको बताए।
उनले शारीरिक रुपमा दुर्बल भएकालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने प्रावधान भएपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको बताए। ‘हामी जहाजमा चढ्ने हो भने तपाईँले यति छुट पाउनुहुन्छ भनेर पहिल्यै छुट दिन्छन्, तर गाडीमा चढ्दा त्यसरी सूचना दिएर छुट दिनुको सट्टा माग्दा पनि छुट नदिने गरेको यथार्थ औँल्याए। जिफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुँदा अपाङ्गता भएकाहरु सेवाबाट वञ्चित हुनुपरेको बताए। ‘सरकारले नै पूर्वाधार निर्माण गरेको छैन, हामीले कसरी सेवा दिन सकिन्छ’, उनले थपे, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् हामी कार्यान्वयन गर्न तयार छौं ।’ आईएनएफ नेपाल हरियो खर्क अस्पतालका प्रमुख ताराहाङ तावाले अवरोधमुक्त सडक पेटीसँगै सार्वजनिक यातायातलाई ह्वीलचेयर चढाउन मिल्ने, दृष्टिविहीनले समेत प्रयोग गर्न सक्ने बनाउनुपर्ने बताए। अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपांगतामैत्री पूर्वाधार बनाउनु राज्यको दायित्व भएको बताए। साथै सार्वजनिक यातायात अपाङ्गमैत्री भए मात्रै सञ्चालन अनुमति दिने व्यवस्था हुनुपर्ने उनले बताए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले संविधानले ग्यारेन्टी गरेको अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने बताए।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए। ‘हिजो अपाङ्गमात्र होइन सपांगको पनि अधिकार खोसिएको थियो,’ उनले भने, ‘तर हामीले लडेर नयाँ व्यवस्था ल्याएका छौं। यो व्यवस्थामा सबैको पहुँचयुक्त पूर्वाधार, यातायात बनाउन हामी प्रतिबद्ध छौं।’ प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले पूर्वाधार निर्माण भएमा सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउने व्यवहारिक पाटो आफूहरुले कार्यान्वयन गर्न दबाब दिने बताए। कार्यक्रममा डिडा नेपालका महासचिव गिरधारी सुवेदी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाश तिवारीलगायतलेपनि सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउनका लागि सबै जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए।
Source: https://nagariknews.nagariknetwork.com/social-affairs/1302001-1695464499.html
HUMAN RIGHTS NEWS PORTAL






