शिक्षकमा पनि गुणस्तर खोज्नु पर्ने देखियो : खड्का

आदर्श सञ्चार डटकम । २०८२ पुस २ गते

बागलुङ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिक्षकहरुमा पनि गुणस्तर खोज्नु पर्ने धारणा राख्नु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पुर्व समिक्षा तथा अन्तरक्रियामा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो ।  २०८२ पुस २ गते बागलुङमा आयोजना गरिएको कार्यक्रममा खड्काले धेरै माध्यमिक विद्यालयमा दरवन्दी नै नभएको र शिक्षकहरु सामान्य कम्प्युटरको किबोर्ड सम्म चलाउन नसक्ने अवस्थाको सम्म रहेको बताउनुभयो । उहाँले बिद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु पर्ने तर्फ कुरा गर्नु पर्दा शिक्षकको क्षमता परिक्षण पनि जोडिनु पर्ने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका भित्र शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयहरुमा पनि छात्राबास राख्ने तयारी थालिएको बताउनुभयो । पहिलो चरणमा रायडाँडामा छात्राबासको प्रयास भएको उहाँको भनाई थियो ।

बागलुङ बजार क्षेत्रमै पिउने पानीको अभाव भएको तर्फ इङ्गीत गर्दै उहाँले डिप बोरीङ मार्फत समस्या समाधानको प्रयास थालिएको बताउनुभयो । नगर खानेपानी रहेतापनि प्रयाप्त नभएको र त्यसमा पनि सुद्धताको प्रश्न उठ्ने गरेको उपप्रमुख खड्काको भनाई छ । लैङ्गीक हिंसाका बारेमा आफूहरु सचेत रहेको बताउँदै उहाँले लैङ्गीक हिंसाको समयमा १६ दिनै कार्यक्रम गरीएको बताउँदै उहाँले १४ दिन वडामै एकएक दिन र पहिलो र अन्तिम दिन सदरमुकाममा कार्यक्रम गरिएको बताउनुभयो ।

बागलुङ नगरपालिका भित्र साउन पछि मात्रै न्यायिक समितिमा २१ निवेदन दर्ता भएको र सबै कानुनी प्रकृयामा गएको खड्काको भनाई थियो । सदरमुकााममा नगरपालिका भएकोले जिल्लाकै सबै काम नगरले गर्नु पर्ने, नागरिकको बसाइ नगरमा हुने तर स्थायी ठेगाना अन्त हुनेहरुको संख्या हुँदा न्याय पाउन मुस्कील भएको नागरिकले महशुष गरेको हुन सक्ने उहाँको बुझाई थियो ।  कार्यक्रममा तथ्याङ्क विभागको रेकर्ड अनुसार बागलुङ नगरपालिकामा अपाङ्गता भएका व्यक्तीको संख्या एक हजार पाँच सय २३ देखिएको र अहिले सम्म सात सय १२ लाई मात्र नगरले परिचयपत्र बितरण गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले इन्सेकको अर्धवार्षिक समिक्षाको क्रममा आत्महत्याको संख्या बढ्दो देखिए पछि प्रहरी तथा स्थानीय निकायले पनि आत्महत्या रोकथामका लागि प्रयास गरेको बताउनुभयो । अघिल्लो पटक उठेका विषयमा यसलाई कम गर्न कार्यक्रम गरियो, मनोपरामर्शदाताले नै आत्महत्या गर्ने हो कि भन्ने पनि देखिएको समेत उहाँको ठम्याई थियो । उहाँले आत्महत्या रोकथामकालागि मनोपरामर्श तालिम लिएर कार्यक्रममा जाँदा जाँदै उसैलाई त्यसले गिजोल्न सक्ने तर्फ सचेत हुन आग्रह गर्नुभएको थियो । आत्महत्याका विषयमा हामीले धेरै छलफल गरेका छौं, काम गरिएको छ तर घट्ने देखिएको छैन । यसको कारण फरक फरक हुने हुँदा दर घट्न कम भयो भन्न सक्ने अवस्था छैन ।

अधिकार प्रवद्र्धन गर्नका लागि बिभिन्न संघ संस्थाले काम गर्दछन् र हामीले मानवअधिकारलाई फोकस गरेर काम गर्ने गरेका छौं भन्दै उहाँले भन्नुभयो कसैले पनि कर्तव्यलाई पुरा गरीएन भने अधिकार हनन् हुने हो । इन्सेकको कार्यक्रम पनि बिकेन्द्रीत भएर गरियो भने सजिलो र राम्रो हुने प्रजिअ गुरुङको भनाइ थियो । उहाँले सञ्चार माध्यमबाट पनि मानवअधिकार प्रवद्र्धन हुने खालको सञ्चार प्रवाह भयो भने राम्रो हुने थियो कि भन्ने आशा गर्नुभएको थियो ?

घर सर्वेक्षण गर्दै अपाङ्गता भएका पहिचानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी तिलक भारतीले जिल्लामा नागरिकको पक्षमा प्रहरीले काम गरेको बताउनुभयो । उहाँले कोही पनि नागरिकले आफू न्यायबाट बञ्चित हुन परेको अनुभव नगरेको बताउँदै कुनै पनि घटनामा निर्मम भएर नागरिकको न्यायको पक्षमा प्रहरीले भूमिका खेलेको बताउनुभयो । आत्महत्याको दर अघिल्लो ६ महिनामा बढी देखिए पछि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आत्महत्या रोकथामका लागि प्रहरीले काम गरेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव डम्बर बुढा मगरले जिल्ला भित्र सञ्चारकर्मी तथा पत्रकार माथि आक्रमण भएको बताउनुभएको थियो । जैमिनि नगरपालिकाको स्वास्थ्यकर्मीले पत्रकार माथि आक्रमण गरेका र आवश्यक सहजीकरण गरेर न्याय दिने काम भएको भए पनि यस्ता घटनाहरु दुर्भाग्यपूर्ण भएको बताउनुभएको थियो । उहाँले बाह्य आक्रमण त छँदै छ अधिकांश पत्रकारले तोकिएको पारिश्रमिक पाउने त परैको कुरा पारिश्रमिक समेत नपाउने समस्या रहेको बताउनु भएको थियो । बागलुङका कतिपय ठाउँमा बिद्युत नपुगेको, निसेलढोर लगायतको क्षेत्रमा विद्युत तथा सञ्चारको लागि इन्टरनेट नहुँदा जनताले सास्ती पाएको बताउनु भयो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटाले जिल्लाका सबै बालबालिकाले पाउनु पर्ने खोप पाएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष ढोरपाटन नगरपालिकामा एक जना सुत्केरी आमाको मृत्यु भएको र चालु वर्षमा पाँच जना नवजात शिशुको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार बागलुङ जिल्ला भित्र ३८ जना आमाहरुले घरमै बच्चा जन्माएका थिए ।

जिल्ला कारागार बागलुङका जेलर धीरेन्द्रराज पन्तले एक सय ४९ पुरुष, १५ महिला र एक नावालक गरी एक सय ६५ जना कैदीबन्दीहरु कारागारमा रहेको बताउनुभयो । उहाँका अनुसार सबै भन्दा धेरै बलात्कार जन्य प्रकृतिका मध्ये बलात्कारका ५१ बलात्कार प्रयास ५ हाडनातामा बलात्कार ८ र अप्राकृतिक मैथुन २ गरी कुल ६६ जना रहेका छन् । त्यस्तै हत्या अन्तरगत कर्तव्य ज्यानका ६१ र ज्यान मार्ने उद्योगका ३ जना कैदी बन्दी कारागारमा रहेका छन् । ७० वर्ष भन्दा माथि उमेर समूहका २ जनाले कारागारमा कैद भुक्तान गर्दै रहेको बताउनु भयो ।

जैमिनि नगरपालिका उपप्रमुख हरिहर शर्माले मानवअधिकारको हनन भएको अवस्था नै अहिलेको रहेको बताउनुभयो । उहाँले अहिले सामाजिक सञ्जालले गर्दा मानवअधिकार उल्लंघन बढी भएको बताउँदै इन्सेक जस्ता निकायले आफ्नो प्रतिबेदनमा यस्ता विषयलाई जोडदार तबरले उठाउनु पर्ने बताउनुभयो । अहिले प्रयोग हुने खाद्यान्नको कारणले धेरै समस्या भएको बताउँदै उहाँले जैमिनि नगरपालिकाले स्याम्पल पठाएर परिक्षण गर्दा आफ्नो पालिकामा विक्रीका लागि आएका तेलहरु खानै नहुने खालको पाइएको समेत बताउनुभयो ।

यस्ता घटनाहरुले गर्दा उपभोक्तालाई पनि जागरुक बनाउन पर्ने उहाँको धारणा थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी सुरज खड्का, जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजाल, अनुसन्धान अधिकृत रुपेश शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुमन लामिछानेले बोल्नु भएको कार्यक्रमको सञ्चालन इन्सेक प्रतिनिधि अमृत बास्कुनेले गर्नुभएको थियो ।

Source: https://aadarshasanchar.com/2025/12/17/70639/