संकट समाधानको एक मात्र वैधानिक बाटो निर्वाचन हो : योगेश भट्टराई
शिलापत्र डटकम । २०८२ कात्तिक २६ गते
नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान जटिल राजनीतिक अवस्थाबाट देशलाई सही दिशातर्फ लैजान एक मात्र वैधानिक बाटो निर्वाचन मात्रै रहेको बताएका छन् । मंगलबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा राजधानीमा भएको ‘लोकतन्त्र र निर्वाचन’ विषयक छलफल कार्यक्रममा उनले भने, ‘हामी हतियार बोकेर चुनावमा सहभागी हुँदैनौँ । निर्वाचन नै लोकतान्त्रिक अभ्यासको मुख्य आत्मा हो । त्यसैले निर्धारित समयमै निर्वाचन हुनैपर्छ ।’
भट्टराईले राजनीतिक दलहरूले लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो छाडेर अन्य विकल्प खोज्ने प्रवृत्ति बढ्न थालेको भन्दै त्यसले देशलाई थप संकटमा धकेल्ने चेतावनी दिए । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले लोकतन्त्र केवल चुनावमा सीमित नभएर नागरिक अधिकार, स्वतन्त्रता र जवाफदेहितासँग पनि जोडिएको बताउँदै भने, ‘लोकतन्त्र केवल मतपेटिकासम्म सीमित छैन, तर निर्वाचन त्यसको आत्मा अवश्य हो ।’
कार्यक्रममा जेन–जी अलायन्सका रिजन मगरले केही दलहरूले संसद पुनःस्थापनाको सपना देख्न थालेको टिप्पणी गर्दै त्यस्तो सोचले राजनीतिक स्थायित्वलाई कमजोर पार्ने चेतावनी दिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कविन्द्र बुर्लाकोटीले वर्तमान निर्वाचन प्रक्रिया युवामैत्री नभएको बताउँदै विदेशमा रहेका नेपाली नागरिकलाई पनि मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
Source: https://shilapatra.com/detail/171280
Source: https://shorturl.at/SbEnL
Source: https://shorturl.at/PCZDS
HUMAN RIGHTS NEWS PORTAL






