संविधान बचाऔँ, संशोधन गरौँ’

मिसन टुडे डटकम । २०८२ असोज ४ गते

नेपालगन्ज । संविधान सभाबाट तर्जुमा गरिएको वर्तमान संविधानलाई रक्षा गर्नका लागि नागरिक समाजले भूमिका खेल्नुपर्नेमा नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । ११औँ संविधान दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार आयोजित विभिन्न मानवअधिकारवादी संघसंस्थाहरूको आयोजनामा भएको एक अन्तक्र्रिया कार्यक्रममा सहभागिहरूले नेपालको संविधान–२०७२ को विकल्प खोज्नु देशकै भविष्य संकटमा पार्नु हुनेमा जोड दिएका थिए ।

उनीहरूले अब कमजोरी रहेको देखिएका प्रावधान संशोधन गर्नु नै सही विकल्प हुनेमा जोड दिए । कार्यक्रममा बोल्दै अधिकारकर्मी कमला पन्तले कमला पन्तले जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिले संविधानभित्रका कमजोरीहरू सुधार्ने बेला भैसकेको बताइन् । उनले संविधानलाई सम्मान गर्दै अप्ठ्याराहरू सुधार्ने बेला भएकोमा जोड दिइन् । उनले जेन जी सडकमा आउनुको कारण सबै नागरिक रहेको बताउँदै भनिन्, ‘म जेनजीसँग माफी माग्छु । हामी सबैले माफी माग्नुपर्छ ।

हामीले कायरता देखायौँ । समयमा गलत प्रवृत्तिलाई खबरदारी गर्न सकेनौँ ।’ उनले नागरिकहरूले अब आफैँलाई सुदृढीकरण गर्नुपर्नेमा उनले जोड दिइन् । अब दलीय भावना बोकेका संस्थाहरू पनि सच्चिनुपर्ने पनि उनको भनाइ थियो । अधिवक्ता पदम पाण्डेले समस्या संविधानमा मात्रै नभई संस्थाहरूको सुदृढीकरणमा पनि रहेकोमा जोड दिए । उनले भने, ‘हामीले न्यायालय सुधार गरेनौँ । निर्वाचन सुधार आयोग बनाएनौँ । प्रशासन कयौँ कमजोरीहरू पनि सुधार गर्न सकिनेमा त्यसो गर्न सकेनौँ ।’

अधिवक्ता सुनिता शर्माले नागरिक समाजले राजनीतिक दलभन्दा माथि उठेर सत्तालाई सचेत गराउन सक्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् । उनले भनिन्, ‘सर्वाेच्च समेत जल्दा कतै न्यायलयले पनि न्याय दिन सकेन कि भन्ने कुरा सोचौँ । अब गल्तीलाई स्वीकार गर्दै सकारात्मक दिशातिर जानुपर्छ । संविधान बचाएर उचित प्रक्रियाबाट संशोधन गर्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नागरिक समाज तथा व्यवसायिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पछिल्लो घटनाले निजी क्षेत्र हतोत्साहित भएको बताए ।

उनले देशैभरीबाट कमजोरीहरू सुधारका लागि सबैले पहल गर्न जरुरी रहेकोमा जोड दिए । उनले सबै नागरिकहरूले काम गर्दा पार्टीभन्दा माथी उठ्न सक्नुपर्ने धारणा राखे । उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताएका थिए ।

कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषदका लुम्बिनी प्रदेश पार्सद इश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मानव अधिकारकर्मी प्रकाश उपाध्याय, वरिष्ठ लेखक एवम पत्रकार नरेन्द्र जंग पिटर, अधिवक्ता विश्वजित तिवारी, वेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती लगायतले समेत बोलेका थिए ।

Source: https://missiontodaynews.com/2025/09/100362

Source: https://nepakhabar.com/posts/2237-savathhana-sashathhana-gara-vakalpa-nakhaja