सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग

अभियान डेली.कम । २०७८ असोज ७ गते

वीरेन्द्रनगर । सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको, आयोजनामा लेकवेसी नगरपालिका मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । उद्योगी व्यवसाय व्यवस्थित गर्नुपर्ने, स्थानीय स्तरमा बजार अनुगमन गर्नुपर्ने समयमा किसानले मल बीउ बिजन लगायत सहयोग समयमा नै गर्नुपर्ने विषयमा छलफल भएको इन्सेकका सहजकर्ता विन्दुलाल रेग्मीले बताए ।

स्थानीय उत्पादनले बजार नपाउदा किसानलाई समस्या पर्ने गरेको उनीहरुको भनाइ थियो ।  नगरपालिका क्षेत्र भित्रमा बजार अनुमगन नहुँदा म्याद नाघेका वस्तु विक्री वितरण भइरहेकाले नगरपालिकाले त्यसतर्फ ध्यान दिनुपर्ने मानवअधिकार निगरानी समूह लेकवेसीकी अध्यक्ष निरुकुमारी थापाले बताइन् । नगरपालिकाले किसानलाई सुविधा दीन कल सेन्टरको स्थापना गरे पनि स्रोत साधनको अभावमा प्रभावकारी रुपमा सन्चालन  गर्न आग्रह समेत गरिएको छ । कृषिमा अनुदान, सहुलियत कर्जा, बीउ मल, समयमा उपलब्ध नहुँदा किसानलाई समस्या थप सिर्जना हुने भएकाले समयमा नै उपलब्ध गराउन माग गरिएको थापको भनाइ छ ।

लेकवेसी नगरपालिकामा किसानले उत्पादित तरकारी बजारीकरणमा समस्या रहेको बताए । कृषकहरुले उत्पादन गरेको वस्तुले उचित बजार तथा मूल्य नपाउँदा किसानहरु संकटमा परेको उनीहरुको भनाइ थियो । लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले किसानहरुलाई आवश्यक मात्रामा तथा आवश्यक समयमा मल, खाद र बीउबिजन उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे । बजारमा खाद्य सामग्रीहरुको गुणस्तर अनुगमन गरी खाद्य अधिकारको सुनिश्चितताका लागि पनि नगरपालिकाले काम गरिरहेको बताए । स्थानीय समुदायको उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताए ।

Source: आर्थिक अभियान, Aarthik Abhiyan Online News Nepal (abhiyandaily.com)