हिंसापीडितको न्याय र पुनः स्थापनाका विषयमा मानव अधिकार सहायता कक्षमा छलफल
निर्भिक पोष्ट डटकम । २०८३ भदौ ३१ गते
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सहायता कक्षको बैठक बुधवार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बैठक बसेको हो ।
विगत लामो समयदेखि विभिन्न प्रकारका हिंसाबाट पीडित महिला तथा बालबालिकालाई मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्दै आइएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्क राज जोशीले जानकारी दिए ।
उनका अनुसार यस पटक दुई जना घरेलु हिंसा पीडित महिलाको न्यायका लागि सहयोग रकम प्रदान गरिएको छ भने थप दुई जना पीडितको न्यायका लागि पहल गर्नुपर्ने भएकाले सहायता कक्षको बैठक आयोजना गरिएको हो ।
बैठकमा मानव अधिकार सहायता कक्षका अध्यक्ष देवी खनालले घरेलु हिंसालगायत विभिन्न कारणबाट पीडित भई घरबारविहीन भएका महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र न्यायका लागि पुनः स्थापना केन्द्र स्थापना गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरी सञ्चालनमा ल्याउनुपर्ने बताए ।
यस विषयमा मानव अधिकार रक्षक सञ्जाल तथा मानव अधिकार सहायता कक्षको तर्फबाट सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाइएकोबारे पनि उनले जानकारी गराए ।
महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना निरन्तर भइरहेकाले पीडितको न्यायका लागि मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्नुका साथै मनोसामाजिक परामर्शको समेत आवश्यकता रहेको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अम्बिका भण्डारीले बताइन् ।
प्रदेशस्तरीय बैठकले पीडितलाई प्रदान गरिएको सहयोग रकम अनुमोदन गर्नुका साथै सहयोगका लागि प्राप्त दुई वटा पीडितका निवेदनमाथि अध्ययन गरी आवश्यक सहयोगका लागि अन्य संस्थामा समेत सिफारिस गर्ने निर्णय गरेको सहायता कक्षका संयोजक देवी खनालले बताए ।
बैठकमा मानव अधिकार सहायता कक्षका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






