३२औँ प्रकाश मानव अधिकार पुरस्कार रुद्रबहादुर खड्कालाई

विजयकिल्ला डटकम । २०८३ साउन १५ गते

सिन्धुली। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ३२ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ सिन्धुलीको कमलामाई नगरपालिका–९, भीमानका रुद्रबहादुर खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकका अनुसार शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गर्दै खड्कालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको जनाइएको छ ।

खड्काले मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

शारीरिक अस्वस्थताका बाबजुद पनि उनले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएका छन् ।

इन्सेकले आफ्ना संस्थापक महासचिव प्रकाश काफ्ले को स्मृतिमा २०५१ सालदेखि ‘प्रकाश मानव अधिकार पुरस्कार’ स्थापना गरेको हो ।

२०५१ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एयर दुर्घटनामा काफ्लेको निधन भएपछि उनको योगदानको सम्मानस्वरूप यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

यसअघि वरिष्ठ पत्रकार, समाजसेवी, चिकित्सक, दलित अधिकारकर्मी, महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीसहित ३१ जना व्यक्तित्व उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

इन्सेकका अनुसार सर्वोच्च अदालतका माननीय वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल को प्रमुख आतिथ्यतामा साउन १६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुद्रबहादुर खड्कालाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

इन्सेकले पुरस्कार प्राप्त गरेकोमा रुद्रबहादुर खड्कालाई बधाई ज्ञापन गर्दै शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

Source: