२०७३ जेठ २९ गते
प्रेस विज्ञप्ति
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बीसौँ साधारणसभा जेठ २९ गते ललितपुरमा सम्पन्न भएको छ । साधारणसभाले आगामी तीन वर्षका लागि सुबोधराज प्याकुरेलको अध्यक्षतामा रमेश पौडेल ईन्दिरा श्रेष्ठ रुद्रबहादुर चर्माकारनिलमशेखर अधिकारी र गीता बराल सदस्य रहेको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ । केही समयपछि हुने कार्यसमितिको बैठकले सदस्यहरूको पद विभाजन र एक जना सदस्यको मनोनयन गर्नेछ ।
साधारणसभाले संविधानको प्रगतिशील कार्यान्वयनलगायत समसामयिक विषयका १६ बुँदे प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावहरूमा नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका लागि इन्सेकलगायत सरोकारवालाहरूको सहभागितामा कानुन संरचना आदिको यथाशीघ्र तर्जुमा गरी लागु गर्न, संविधान कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेको अवधि २०७४ माघसम्म स्थानीय निकाय, प्रदेश सभा र सङ्घीय व्यवस्थापिकाको निर्वाचन तदारुकताका साथ सम्पन्न गर्न र संविधानले परिकल्पना गरेका आयोगहरूको शीघ्र गठन गरी संविधान कार्यान्वयन गर्न माग गरिएको छ ।
यसैगरी, प्रस्तावमा नागरिक र राजनीतिक अधिकार माथि विभिन्न समूहहरूबाट भईरहेको संस्थागत हस्पक्षेप तथा मानव अधिकारको हन्नप्रति विरोध जनाइएको छ । नागरिकको आधारभूत मानव अधिकारको रक्षाका लागि काम गर्न तथा दण्डहीनतालाई अन्त्य गर्न सरकार र संसद्लाई आग्रह गरिएको प्रस्तावमा, वस्तु र सेवा बजारमा देखिएको विकृतिलाई नियन्त्रण गर्दै स्वच्छ बजार र उपभोक्ताको मानव अधिकार संरक्षणको प्रत्याभूति गर्न सरकार र व्यवस्थापिका संसद्लाई आग्रह गरिएको छ ।
विजयराज गौतम
कार्यकारी निर्देशक