अत्याधिक बल प्रयोग बन्द गर

२०७८ असोज २६ गते

 

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमध्ये तीनजनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको प्रहरीले जनाएको  छ । मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको र प्रहरीले गोली चलाउँदा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । साथै, अन्य घाइते भएका १७ जना प्रहरी र २४ जना प्रदर्शनकारीमध्ये चार जना प्रहरीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ । घटनाको विस्तृत अध्ययन गर्न इन्सेकले बनाएको अध्ययन टोलीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराउँदै प्रारम्भिक अध्ययनका आधारमा निम्न बमोजिमका सरोकार व्यक्त गर्दछौँ ।

सुकुम्बासी बस्तिका नागरिकहरूसँगको मुठभेडमा भएको यस प्रकारको घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको छ ।

  • सशस्त्र प्रहरी बलका तर्फबाट घटनामा अत्यधिक बल प्रयोग भएका कारण मानवीय क्षतिको अवस्था आएको प्रारम्भिक सूचनाले देखाएको छ ।
  • सुकुम्बासी बस्तिका प्रदर्शनकारीलाई प्रदर्शनका क्रमम संयमता अपनाउन र बिरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न इन्सेक हार्दिक अनुरोध गर्दछ ।
  • मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेक आग्रह गर्दछ । साथै पीडित नागरिकहरुको अधिकार र न्यायको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
  • सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्याको स्थायी समाधानतर्फ जिम्मेवार निकायको लापरबाही देखिने गरेको छ । तसर्थ, यस्ता समस्याको स्थायी समाधानका न्यायोचित पहल गर्न नेपाल सरकारसग इन्सेक आग्रह गर्दछ ।

Dr. Indira Shrestha

 

 

 

डा. इन्दिरा श्रेष्ठ 

अध्यक्ष