मितिः २०७७ साउन ३२ गते

प्रेस विज्ञप्ति

कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय २  र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ। देशका ७७ जिल्लामा रहेका इन्सेक प्रतिनिधिले गरेको अनुगमन तथा अभिलेख, सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएका समाचार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचनालाई विश्लेषण गर्दा सङ्क्रमणको जोखिममा कमी आउने देखिएको छैन । यहीबेला सङ्क्रमित बिरामीको उपचार गर्न  निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै  उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् ।

उदयपुरको कटारी नगरपालिका – ५ का २३ वर्षीय पदमबहादुर राईको साउन ९ गते नोबेल शिक्षण अस्पताल र कोशी अस्पतालले उपचार नगर्दा कोशी अस्पतालको आकस्मिक कक्ष बाहिर मृत्यु भयो । बीरगंज महानगरपालिका-११ श्रीपुरका ६४ वर्षीय चलितर महतोको बीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले उपचार गर्न नमान्दा साउन २२ गते  बिहान मृत्यु भयो । यसैगरी, बीरगंज महानगरपालिका-२ छपकैयाकी २० वर्षीया विष्णु लामालाई कोरोना सङ्क्रमित भएको आशङ्कामा बीरगंजमा रहेका अस्पतालहरूले भर्ना लिन मानेनन् । उनको साउन २४ गते बिहान मृत्यु भयो । बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय सुशिलकुमार साहको समयमै अस्पतालले उपचार गर्न नमानेकोले साउन २७ गते बिहान बीरगंजस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भयो । २०७७ साउन महिनामा मात्र स्वास्थ्य सेवामा पहुँच नपाएर मृत्युवरण गर्नु परेका प्रतिनिधि घटनाहरूले संवेदनशील वर्तमान परिस्थितिलाई उजागर गरेको छ । यस्ता घटना नदोहोरिने सुनिश्चितताका लागि जनस्वास्थ्यका सवालमा संवेदनशीलता बढाएर थप सक्रियहुन हामी तीनै तहका सरकारहरूसँग आग्रह गर्दछौँ ।

कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) को २०७७ साउन २५ गते सम्पन्न बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र व्यवस्थापनका लागि थप आइसोलेशनको व्यवस्था गर्ने निर्णय गरेको छ । स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन र क्वारेन्टाइनको थप व्यवस्था गर्ने निर्णय समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका सरकारी अस्पतालमा ४ सय ९६ भेण्टिलेटर र ९ सय ४२ ओटा आइसीयू बेड सञ्चालनमा रहेको बुझिएको छ । कोरोना परीक्षण प्रयोगशाला ३८ ओटा र १ हजार ७ सय ७२ ओटा आइसोलेशन बेड रहेका छन् । सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्‍याउनु  जरुरी देखिन्छ । उपचारको अभाव भोग्नु परेका नागरिकको स्वास्थ्यको अधिकारप्रति जबाफदेही हुन हामी नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ ।  

गाउँ, बस्ती, सहर र समुदायस्तरमा फैलिँदै गएको सङ्क्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ। अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन। कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ । उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ ।

डा. इन्दिरा श्रेष्ठ

                                                                                 अध्यक्ष