२०७३ चैत ७ गते
प्रेस विज्ञप्ति
मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी घटनाको निन्दा र भत्सर्ना गर्दछौँ ।
निर्वाचन आचारसंहिता विपरीत काम गरेको, जवाफदेहिता र पारदर्शिता कायम गर्न भनी २०७३ चैत ४ गते वाईसीएलले संस्थालाई दिएको पत्रको बेवास्ता गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिका अध्यक्ष सन्तोष केसीको नेतृत्वमा आएको समूहले कार्यालयमा काम गरिरहेका सबै कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरेको घटना विवरणमा जनाइएको छ ।
कुनै संस्थाका क्रियाकलाप मन परेनन्, सञ्चालित कार्यक्रम पारदर्शी भएनन् भने तिनका बारेमा जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद्मा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै आफैँ ‘न्यायाधीश’ भई न्याय निरूपण गर्न खोज्ने वाईसीएल दोलखाको यो तरिका अलोकतान्त्रिक मात्रै होइन अपराधसमेत हो ।
कानुन र संविधानले दिएको अधिकार कुण्ठित गर्ने वाईसीएलको दुष्प्रयासको भत्सर्ना गर्दै संस्थामा लगाइएको ताला अविलम्ब खुला गरी संस्थाको दैनिक कार्य सुचारु गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग माग गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL