२०७३ असोज ६ गते
गङ्गामायालाई न्याय देऊ
न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा भएको छ । अधिकारी दम्पती नन्दप्रसाद र गङ्गामाया ०६९ माघ २२ गतेदेखि अनसन बस्दै आएकामा नन्दप्रसादको मृत्यु भएपश्चात पनि गङ्गामायाले न्याय प्राप्तिको आफ्नो अडानलाई आजसम्म कायमै राखेकी छन् । केही समय अघि चितवन जिल्ला अदालतको आदेश अनुसार गङ्गामायाको बकपत्र भएको छ । बकपत्रमा छोराको हत्या व्यक्तिगत रिसिइवीका कारण गरिएको बताउँदै द्वन्द्वसँग असम्बन्धित घटना भएको उनले दोहोर्याएकी छन् ।
नन्दप्रसादको न्याय प्राप्तिको आन्दोलन र मृत्युपछिका दुई वर्षको अवधिमा सरकारले गरेका क्रियाकलापले नन्दप्रसादसँगै न्यायसमेत मार्न खोजिएको आभास हुन्छ । तर, न्याय मार्न सजिलो नहुने कुरा हेक्का राख्न हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । अधिकारीको मृत्यु र उनकी पत्नी गङ्गामायाको सत्याग्रहलाई अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले नजिकबाट नियालिरहेको समेत जानकारी गराउँछौँ । अधिकारी परिवारले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कुराको नजिर स्थापित भइसकेकोसमेत स्मरण गराउँछौँ ।
सरकारको प्रत्यक्ष निगरानीमा अनसनमा बसेका अधिकारीको मृत्यु भएको दुई वर्षपूरा भइसक्दा पनि शवलाई अस्पतालको एउटा बाकसमा थन्क्याउनुपर्ने परिस्थितिले सरकारी उदासीनता झनै छर्लङ्ग्याएको छ । मृतक नन्दप्रसादको अन्तिम संस्कार गर्ने वातावरण बनाउन तथा अधिकारी परिवारलाई न्यायको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गर्दछौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष