तत्काल उद्दार, राहात र क्षतिपूर्तिको व्यवस्था गर !

२०७८ कात्तिक ७ गते

वर्षायामको समाप्तिपश्चात एक्कासी मनसून सक्रिय भई परेको भिषण वर्षाका कारण नेपालका विभिन्न भूभागमा गएको पहिरो, बाढीलगायतका प्रकोपका कारण १ सय १ जनाको मृत्यु भएको, ३७ जना बेप्पत्ता भएको, ७८ ओटा घर, १६ ओटा गोठ, ६ ओटा पुल, एउटा विद्यालय र तीन ओटा सरकारी कार्यालयमा क्षति पुगेको, १ सय ८६ ओटा पशु चौपाय मरेको, १ हजार १ सय ८८  ओटा घर परिवार विस्थापित भएको तथा डुवानमा परी अरबौँ मूल्यको धान नष्ट भएको  घटनाप्रति इन्सेक दुःख व्यक्त गर्दछ । यो अवधिमा बाढीका कारण २ हजार २ सय ३२ ओटा घर डुबानमा परेका प्रहरीको प्राम्भिक तथ्याङ्क छ ।

विपदको यस दुखद् घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरु र सम्पूर्ण सरोकारवाला निकायहरुसँग आग्रह गर्दछौँ । सामाजिक संस्था, विज्ञ तथा सम्बन्धित सरोकारवालाहरुको परिचालन गरि वर्षैपिच्छे दोहोरिने यस्ता घटना र त्यसको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी तथा प्रतिकार्यको सुनिश्चितताका लागि कार्य गर्न आग्रह गर्दछौँ । विपदको समयमा तीनै तहका सरकारको एकीकृत परिचालन गरी उद्दार, राहात र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

बालीनाली र पशु चौपायको नोक्सानी व्यहोरेका किसानलाई तत्कालिन र दीर्घकालिन राहतका लागि हामी जोडदार माग गर्दछौँ । बालीनाली र पशु चौपायको अनिवार्य बिमाको व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउछौँ । समयसमयमा हुनसक्ने जुनसुकै प्रकारका विपद्को व्यस्थापनका लागि तल्लो तहसम्म संयन्त्र निर्माण गर्न र आवश्यक परेका बेला त्यस्ता संयन्त्रलाई तदारूकताका साथ परिचालनको नीति अबलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछौँ ।

 

Dr. Indira Shrestha

 

 

 

डा इन्दिरा श्रेष्ठ

अध्यक्ष