२०७४ असोज ९ गते
जनताको स्वास्थ्य अधिकारको रक्षा गर
आफ्ना माग पूरा नभएको भन्दै डाक्टरहरुले गत शुक्रबारदेखि गरेको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिरामीको उपचारको क्रममा ज्यान गए उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानुन बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका स्वास्थ्य संस्था अनिश्चितकालीनरुपमा बन्द गरिँदा बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् ।
उपचारको क्रममा बिरामीको ज्यान गए उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानुन नबनाइने नेपाल सरकारले बताएको भए पनि चिकित्सकलाई हातपात गर्नेमाथि तत्कालै जेल सजाय हुनुपर्नेलगायतका कानुन नबुन्जेलसम्म हड्ताल जारी रहने चिकित्सक सङ्घले बताएको छ ।
अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था छ । स्वास्थ्य संस्था बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान तथा कानुनको ठाडो उल्लङ्घन हो । कानुन भन्दा माथि कोही हुँदैन तर हाम्रो देशमा कानुनको उल्लङ्घन गर्ने कार्यलाई बहादुरी मानिने प्रचलन बढ्दै गएको र यस्ता कार्यले दण्डहीनतालाई प्रश्रय दिएको छ ।
आफ्ना माग पूरा गराउने नाममा स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुन स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राख्न चिकित्सक सङ्घसँग आग्रह गर्दछौँ । समस्याको समाधान वार्ता र संवादबाट खोज्न सकिनेतर्फ चिकित्सक सङ्घ तथा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL