२०८० भदौ १२ गते

भावपूर्ण श्रद्धाञ्जली

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते असमायिकTeknath_Baral निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । दुःखको यस घडिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवाजनामा समवेदना व्यक्त गर्दछौँ ।

सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजक श्री बराल महिला विरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उहाँले भूमिका निर्वाह गर्नु भएको थियो ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा उहाँले गर्नु भएको योगदानको कदर गर्दै इन्सेकले यसका संस्थापक महासचिव प्रकाश काफलेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उहाँलाई सम्मानित गरेको थियो । उहाँको निधनबाट नेपालको मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा अपूरणीय क्षति भएको छ । मानव अधिकारको क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुनेछ ।

Kundan aryal sign

 

 

 

डा. कुन्दन अर्याल

अध्यक्ष