२०७८ साउन १५ गते

“२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता
फिरुलाल चौधरीलाई

 

इन्सेक कार्यसमितिको २०७८ साउन ४ गतेको बैठकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले श्री चौधरीलार्ई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पु¥याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २६ जना सम्मानित भइसक्नु भएको छ । धनगढीमा २०७८ साउन १६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय त्रिलोचन भट्टको प्रमख आतिथ्यमा सम्पन्न हुने समारोहमा श्री चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष