२०७६ साउन १५ गते
२५ औ“ प्रकाश मानव अधिकार पुरस्कार मोरङका गुरुप्रसाद बराललाई

शोषण, विपन्नता, विभेद एवम् कुरीति मुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गर्नु भएका मोरङका गुरुप्रसाद बराललाई २५ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेकले गरेको छ । इन्सेकका महासचिव रमेशचन्द्र पौडेल संयोजक तथा कोषाध्यक्ष गीता बराल र नीलमशेखर अधिकारी सदस्य रहनु भएको प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिले श्री बराललाई प्रकाश पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइएयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पु¥याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको छ ।
२०७६ साल साउन १६ गते प्रदेश १ का प्रदेश प्रमुख प्रा. डा. माननीय गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा विराटनगरमा हुने समारोहमा श्री बराललाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL