प्रेस विज्ञप्ति
मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेका छन् ।
लहान, सिराहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराजस्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असई महतोले निर्घात कुटपिट गरेका थिए । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते भएका पोखरेलको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।
मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र सुपरिचित मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीउपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धतामा कायम रहन हामी सरकार समक्ष जोडदार माग गर्दछौँ ।
जनकपुरकी नवविवाहित आरती साहको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा उजुरी दिने माइती पक्षका परिवारजनलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा बोलाएर पहिले तयार गरिएको उजुरी विपरीतको बयानमा सही छाप गर्न दवाव दिइएको घटना केही अघि सार्वजनिक भइसकेको छ । मृतक आरती साहका परिवारजन उक्त घटनामा जिल्ला प्रहरी कार्यालय, धनुषाको परिसरमै कुटपिट गर्दै यातना दिइएको बताउँदै राजधानीको माइतीघर मण्डलामा विगत डेढ महिनादेखि धर्नामा छन् ।
मधेश प्रदेशमा भइरहेका अनुचित र अत्यधिक बल प्रयोग, यातना र हिरासतको मृत्युका घटनाहरूका सम्बन्धमा गहन छानबिन प्रारम्भ गरी जुनसुकै तहका दोषी प्रहरीउपर अबिलम्व कारबाही चलाउन नेपाल सरकारसमक्ष माग गर्दछौँ । हामी सरकारसँग मानव अधिकार उल्लङ्घनका यस्ता घटनाप्रति शुन्य सहनशीलता अपनाउन ध्यानाकर्षण गराउँदै देशका सबै भूभागका मानव अधिकार अवस्थाको देशभित्र र बाहिरका मानव अधिकार संस्थाहरूबाट निरन्तर मिहिन अनुगमन भइरकेका जानकारी गराउन चाहन्छौँ ।
डा. कुन्दन अर्याल
अध्यक्ष